काठमाडौ,१६ जेठ ।
तार एयरको विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोले,उनका आमा राममाया, बुबा इन्द्रबहादुर, काका पुरुषोत्तम, काकी तुलसा देवी, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया रहेका छन् ।

शनिबार पोखराको विभिन्न मन्दिर दर्शन गरेका उनीहरु मुक्तिनाथको दर्शन गर्नका निम्ति आइतबार तारा एयरको जहाज चढेर जोमसोमका लागि उडेका थिए । मुक्तिनाथको दर्शन गएका उनीहरु कोही पनि मुक्तिनाथ पुग्न पाएनन् । यी ७ जनासँगै तारा एयरको जहाजमा रहेका २२ जनाको दुर्घटनामा मृत्यु भएकाे हो ।

जहाज सम्पर्कविहीन भएको सूचना आएदेखि नै गाउँ नै चिन्तामा रहेको र दुर्घटनामा सबैको मृत्यु भएको खबर आएपछि अहिले रुवाबासी चलेको मिथिला नगरपालिका–११ का वडाअध्यक्ष बेदबहादुर कार्कीले बताए ।

उनका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका राजनका मामा गाउँमै पढाउँथे । उनी केही दिनअघि सेवानिवृत्त भएका थिए ।

काठमाडौं बस्दै आए पनि पटक–पटक गाउँ आउने गरेका राजनले गाउँमा पुरानो घर भत्काएर नयाँ निर्माण गर्न सुरु गरेका थिए ।
घर लगभग तयार हुनै लागेको अवस्थामा उनको मृत्युु भएको वडाअध्यक्ष कार्कीले बताए ।

अनुसार छोरीले यस पटक एसईई दिएकी छिन् भने छोरा सानै छन् । उनीहरु काठमाडौंमै पढ्दै थिए ।

घटनाले पूरा नगरपालिकालाई नै दुखित बनाएको नगरपालिकाका मेयर महेन्द्र महतोले बताए ।

जहाज दुर्घटनामा परी ज्यान गुमाउने सातै जनाको एकै ठाउँमा अन्तिम संस्कार गर्ने तयारी छ । सातै जनाको मृत्यु भइसकेपछि राजनका मामाका दुई जना छोरा काठमाडौं गइसकेका वडाअध्यक्ष कार्कीले बताए ।

प्रक्रिया पुर्‍याएर शव हस्तान्तरण गरेपछि काठमाडौंमै अन्तिम संस्कार गर्ने बिषयमा छलफल भएको उनले बताए ।