काठमाण्डाै,२४ बैशाख ।
नेपालसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर २ बलमा एक विकेट गुमाउँदै भेट्टायो ।

नेपालका सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । त्यस्तै आसिफ शेखले अविजित ३४ र विनोद भण्डारीले ४ रन जोडे । जिम्बाब्वेका ब्राण्डन माभुताले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३१ ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । जिम्बाब्वेका जनथान क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रनमा अविजित रहे । नेपालका सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरे । करण र सोमपालले ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए ।

हिजो भएको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । आजको जितसँगै नेपालले तीन खेलको श्रृंखलामा एक÷एकको बराबरी गरेको छ । अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ । यसअघि भएको तीन टि–२० अभ्यास खेल पनि एक/एक को बराबरीमा सकिएको थियो । दोस्रो टि–२० वर्षाका कारण प्रभावित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एकदिवसीय र तीन टी–२० श्रृंखला खेलेको हो ।