भैरहवा,२७ चैत ।
देशभर बिभिन्न किसिमका आन्दोलन भइरहेका बेला रूपन्देहीमा फेरि अर्को आन्दोलन घाेषणा भएको छ ।
गणतन्त्रवादीदेखि राजावादी,शिक्षक,सहकारी पिडित,सत्ता पक्षीय तथा विपक्षी दलहरू बिभिन्न्न माग राखेर आन्दोलन गरिरहेका बेला यस क्षेत्रका उद्योगी ब्यवसायीहरूले छुट्टै खालको आन्दोलन घाेषणाा गरेका हुन् ।
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै भैरहवाका उद्योगी ब्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनकाे घोषणा गरेकाे हाे ।
पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि,स्थानीय तहका जनप्रतिनिधिका साथै संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल गरी प्रतिवद्धता लिने, सम्बन्धित एअरलाईन्सका प्रमुखसँग छलफल गर्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए ।
त्यस्तै सम्पूर्ण संघ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधि लगायत हजारौंको संख्यामा उपस्थिति भइ विमानस्थल अगाडि अल्टिमेटम दिदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्य मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायूसेवा निगमका प्रमुखहरुसँग अल्टिमेटम दिदै यदी विमानस्थलबाट उडान नभए आन्दोलनको कार्यक्रमको बारेमा ध्यानाकर्षण गराइने अध्यक्ष आचार्यले बताए ।
मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलन अन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोध सभा र यति गर्दा पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।