बुटवल,२ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले ठुला दलको अकर्मण्यताका कारण मुलुकमा राजनीतिक अस्थिरता मौलाएको बताएका छन् । उनलेे मुलुकमा शान्ति, समृद्धि तथा अमन चयन कायम गर्न रास्वपाको उदय भएको बताए ।
रास्वपा देवदह नगर समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै कार्यवाहक सभापति अर्यालले पुराना राजनीतिक दलहरू सत्तालिप्सा र स्वार्थमा मात्र केन्द्रित भएकाले नागरिकमा निराशा बढ्दै गएको आरोप लगाए । आगामि चुनावमा रास्वपाले एक सय ५० सिट जित्ने गरि तयारी गरिरहेको भन्दै साे अभियानमा लाग्न कार्यकर्तालाई अपील गरे ।
अर्यालले रास्वपा अबको २० वर्ष कुनै गुट उपगुट र स्वार्थमा नलागी नितान्त देश र जनताको मुद्दा बोकेर हिड्ने बताउँदै जनताको विश्वास आफुहरुले खेर जान नदिने उल्लेख गरे ।
कार्यक्रममा रास्वपाका केन्द्रिय विभाग सदस्य गणेश पौडेल, प्रदेश सभापति देबराज पाठक, जिल्ला सचिव बिष्णु प्रसाद पौडेल, क्षेत्रीय सदस्य रुकात्मक भारती, धर्मराज पौडेल लगायतले आ आफ्नो भनाइ राखेका थिए । साे अवसरमा अन्य पार्टीका ७५ बढी कार्यकर्ता रास्वपामा प्रवेश गरेको पार्टीले जनाएको छ ।