सडकबत्तीको महसुल तिर्ने १७ स्थानीय तहलाई सम्मान
बुटवल,२१ फागुन ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्य सम्पादनमा सरकारले दिएको शुन्य नम्बरले आफूलाई कुनै फरक नपर्ने भन्दै पदमा रहदाकाे अन्तिम समयसम्म प्राधिकरणकाे हितमा काम गर्ने बताएका छन् । ‘मलाई शुन्य दिए पनि सय दिएपनि कुनै फरक पर्दैन ।’–घिसिङले भने, ‘हामी सबै राष्ट्रिय जिम्मेवारी लिएर काम गरेका छौं । पदमा बहाल रहदाकाे अन्तिम मिनेटसम्म पनि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले बुधबार आयोजना गरेको सडक बत्ती बापतकाे विद्युत महसुल रकम तिर्ने स्थानीय तहहरुलाई सम्मान कार्यक्रममा बोल्दै घिसिङले उक्त कुरा बताएका हुन् । सरकारले हालै मात्र सार्वजनिक गरेको कार्यसम्पादन मुल्याङ्कमा उनलाई दिइएको शुन्य नम्बरको प्रसङ्ग उल्लेख गर्दै उनले आफू पदमा रहँदाको अन्तिम मिनेटसम्म पनि काम गर्ने दाबी गरे । सरकारलाई पटक–पटक स्पष्टिकरण समेत दिनु परेको उल्ल्ख गर्दै उनले जति स्पष्टिकरण दिनुपरे पनि काम गर्ने कुरामा आफूलाई फरक नपर्ने बताए ।

प्राधिकरणमा आफू आउनुअघि मुलुक लोडसेडिङको अवस्थामा रहनुका साथै देशभर जम्मा ५० प्रतिशत घरमा मात्रै विद्युत सेवा विस्तार भएको अवस्थाबाट हाल ९९ प्रतिशत घरमा विद्युत सेवा बिस्तार गर्न सफल भएको र लोडसेडिङ अन्त्य गर्न सफल भएको घिसिङले बताए ।

बार्षिक अर्बाै घाटामा रहेको प्राधिकरणलाई ८ बर्षकाे अवधिमा १५/१६ अर्व नाफामा लगेको बताउदै उनलेे गाउँमा बिद्युत बिस्तार र शहरमा सेवा सुधार गर्ने अभियान सञ्चालन गर्ने योजना सुनाए । प्राधिकरणले अब स्मार्ट मिटरको कार्यक्रमलाई अघि बढाउने योजना अघि सारेको उल्लेख गरे । ‘शहरी क्षेत्रमा सुधार, ग्रामिण क्षेत्रमा बिस्तार’ भन्ने नाराकासाथ काम गरिरहेको बताउँदै घिसिङले पैसा नभएका कारण कुनै पनि घर विद्युत बिहिन नबनाइने बताए ।

यसैगरी कृषि तथा पशुपालनका लागि अनुदान तथा छुटमा विद्युत उपलब्ध गराउने विषयमा योजना बनाउनु पर्ने बताए । घर–घरमा विद्युत पुगिसकेको बताउँदै उनले अब कृषि र पशुपालनतर्फ खेतबारीमा समेत विद्युत पुर्याउने योजना रहेको उल्लेख गरे । विद्युतीय सेवाको सुधारलाई विशेष प्राथमिकतामा राखिएको बताउँदै उनले आगामी २०५० सम्म कति लोड बढ्छ सो बारे अध्ययन गरी योजना निर्माण गर्नेतर्फ प्राधिकरण लागिरहेको बताए । विद्युतको प्रयोगलाई वृद्धि गर्नका लागि प्राधिकरणले विद्युतीय चार्जिङ स्टेशन स्थापनाका लागि ६० प्रतिशत अनुदान तथा ट्रान्सफर्मरको व्यवस्था गररहेको उल्लेख गर्दै हालसम्म १ हजार स्थानमा विद्युतीय गाडी चार्जिङ स्टेशन सञ्चालनमा आएको र देशभर अझै ८ हजार स्थानमा स्थापन गर्ने लक्ष्य रहेको उल्लेख गरे । मुलुकमा विद्युतीय गाडी निर्यात तथा इन्डेक्सन चुलाको प्रयोग बढ्दै गएको बताउँदै उनले गुणस्तरीय विद्युत सेवालाई ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सडक महशुल बुझाउने १७ वटा स्थानीय सरकारलाई सम्मान गरिएको थियो । समयमा सडक बत्तिको महशुल बुझाउने पालिकाहरुमा रुपन्देहीको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका विभिन्न जिल्लाका पालिकाहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिका प्रमुख मोहम्मद इस्तियाक खाँ लगायतले बोल्दै प्राधिकरणले कृषि, मत्स्य तथा पशुपालनका क्षेत्रमा विद्युत महशुल छुट गरिनु पर्ने माग गरेका थिए ।

नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख हरिप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा साे कार्यालयका प्रशासन प्रमुख भाेजराज पाेखरेल,
प्रादेशिक कार्यालयका लेखा प्रमुख फर्सुराम पाण्डेलगायतले कार्यक्रमकाे उदेश्य र भावि कार्यक्रम बारे प्रकाश पारेका थिए ।