भैरहवा, २० फागुन ।
गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि वर्तमान सरकारको प्राथमिकता भएको बताएका छन् । यो सरकार गठन भएको ८ महिना हुनै लागेको स्मरण गर्दै उनलेे सरकारको प्राथमिकता भनेको मुलुकमा भ्रष्टाचार समाप्त गर्ने र सुशासन कायम गर्ने रहेको बताए ।
मंगलबार रूपन्देहीको बेलहिया स्थित अध्यागमन कार्यालय नवनिर्मित भवनको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सेवा प्रवाहलाई सरल गर्ने, नागरिकलाई सहज, सरल रुपले सेवा प्रदान गर्ने र देशमा लगानीमैत्री वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताए । ‘देशभित्रै व्यवसायमैत्री वातावरण बनाउने र समग्रतामा भन्नुपर्दा आर्थिक विकास र उन्नतिलाई अगाडि बढाउने हाम्रा प्राथमिकता हुन्’उनले भने–‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने, बलियो पार्ने र संविधानको रक्षा गर्ने यो सरकारको लक्ष्य हो । यिनै विषयहरुलाई प्राप्त गर्न कामहरु अघि बढेको उनको भनाइ छ ।
बेलहिया देशको प्रमुख अन्तर्राष्ट्रिय नाकाको रुपमा स्थापित भइरहेको भन्दै गृहमन्त्री लेखकले- भने ‘अन्तर्राष्ट्रिय आवातजावतको नाकालाई थप व्यवस्थित गर्नका लागि निर्मित भवनको उद्घाटन गरेका छौं ।’
संसारभर शान्तिको सन्देश फैलाउने गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा विदेशीहरुले अत्यन्त ज्यादा भ्रमण गर्ने इच्छा राख्दै आएको उनको भनाइ छ । ‘यो बुद्धभूमि भएकोले यो ठाउँमा धार्मिक पर्यटनको सम्भावना धेरै छ’गृहमन्त्री लेखकले भने–‘आवातजावतलाई व्यवस्थित बनाएर बढी पर्यटक भित्रयाउँछौ, यसले आर्थिक समृद्धिमा टेवा पुग्छ ।’ उनले अध्यागमन कार्यालय देशको ऐना भएको बताए । उनले सेवाग्राहीलाई विनम्रतापूर्वक सेवा प्रदान गर्न प्रहरी र कर्मचारीहरुलाई निर्देशन दिए । अर्थतन्त्रमा केही सकारात्मक सुधारहरु देखिएको उनको दावी छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले लुम्बिनीको विकासले समग्र मुलुकको विकास हुने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट (भैरहवा–नयाँ दिल्ली) उडान समेत सुरु गर्नुपर्नेमा जोड दिए ।
अध्यागमन विभागका महानिर्देशक गोबिन्दप्रसाद रिजालले पूर्वाधार विकास सेवा प्रवाहसँग प्रत्यक्ष जोडिने भन्दै बिभिन्न मातहतका कार्यालयका पूर्वाधारको विकासले सेवा प्रवाहलाई सहज र राम्रो बनाउने बताए । ‘त्यो सन्दर्भमा नयाँ कार्यालय, जनशक्ति र भवन निर्माण भइरहेका छन् । त्यसैको सिलसिलामा यो कार्यालय बनेको हो । यद्यपि कार्तिक १ गतेदेखि नै यहाँबाट सेवा प्रवाह सुरुवात भएको थियो, ’उनले भने ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अब नवनिर्मित अध्यागमन कार्यालयको भनबाट अध्यागमनको सेवा अझ व्यवस्थित, भरपर्दो र सुविधाजनक हुने विश्वास व्यक्त गरे ।
विभागका निर्देशक टीकाराम ढकालले अध्यागमन कार्यालय बेलहिया नाका हुँदै भारत प्रस्थान गर्ने र नेपाल प्रवेश गर्ने व्यक्तिहरुको संख्या बढ्दै गएको बताए । १० करोड २५ लाख रुपैयाँ (भ्याटसहित) को लागतमा भवन निर्माण सम्पन्न भएको अध्यागमन कार्यालयले जनाएको छ ।