भैरहवा,१९ फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेदहरु हटाएर एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । पार्टी भित्रकाे मतभेद हटाएर काँग्रेसलाई जीवन्त र भाइब्रेण्ट डेमोक्रेटिक पार्टीको रुपमा अगाडि बढाउनुपर्नेमा उनको जोड छ ।
काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण बिभागद्वारा रूपन्देहीको भैरहवामा आयोजित काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको सोमबार उद्घाटन गर्दै सभापति देउवाले काँग्रेसलाई जीवन्त र भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने विश्वास ब्यक्त गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘हाम्राबीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छन्, कतिपय कुराहरु नमिलेका हुन सक्छन् । ती सबैकुरालाई आपसमा छलफल, मेलमिलाप, विश्वास र कुराकानी गरेर मतभेद हटाउनुपर्छ ।’ कांग्रेसलाई हिजो भन्दा अझ ठूलो पार्टी बनाउनुपर्ने उनको भनाइ छ ।
उनले लोकतन्त्र/प्रजातन्त्रमा प्रतिपक्षी पार्टीको धैरै भूमिका हुने बताए । ‘हाम्रो देशमा लोकतन्त्र, प्रजातन्त्र छ, यो अत्यन्तै समावेशी, समानुपातिक र विपक्षी दलसहितको व्यवस्था बनेको छ, ।’ देउवाले भने ।
नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी छन् । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुने खड्काले जानकारी दिए ।