बुटवल,१७ फागुन ।
रूपन्देहीको भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी महिनामा हालसम्मकै धेरै यात्रु आवतजावत गरेका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबू तिवारीका अनुसार फेब्रुअरी २०२५ मा कुल ११५ उडान-अवतरणमार्फत ६,७७९ यात्रु ओहोर-दोहोर गरेका छन् ।
यो संख्या गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएयताकै सबैभन्दा बढी हो उनलेे बताए । फेब्रुअरी महिनामा फ्लाइ दुबई, जजिरा एयरवेज, थाई एयर एसिया, नेपाल एयरलाइन्स तथा चार्टर उडानमार्फत यात्रुहरू ओहोरदोहोर गरेकाे विमानस्थल कार्यालयकाे तथ्यांकमा जनाइएको छ ।
विमानस्थल कार्यालयका अनुसार सबैभन्दा धेरै जजिरा एयरवेजमार्फत ३,२६५, फ्लाई दुबईमार्फत २,४०३, थाई एयर एसियामार्फत १,०९७ तथा चार्टर उडानमार्फत १३ यात्रु यात्रा गरेका छन् । तीमध्ये २११ विदेशी यात्रु रहेका छन् । नेपाल एयरलाइन्स र फ्लाइ दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका-जाने ट्रान्जिट यात्रुहरूको संख्या ४,०४० रहेको छ ।
महाप्रबन्धक तिवारीका अनुसार, नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएयता यात्रु संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ । नोभेम्बर २०२४ मा ४,२७९, डिसेम्बर २०२४ मा ३,८७८, जनवरी २०२५ मा १,३६५ र फेब्रुअरी २०२५ मा ६,७७९ यात्रु ओहोरदोहोर गरेका छन् ।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिएकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अझै पनि पर्याप्त अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
यात्रु संख्यामा भइरहेको वृद्धिले भैरहवा हुँदै यात्रा गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । विशेषगरी, नेपाल-खाडी मुलुक तथा दक्षिणपूर्वी एशियाबीच हवाई सम्पर्क विस्तार गर्न महत्त्वपूर्ण केन्द्र बन्दै गएको छ ।
महाप्रबन्धक तिवारीका अनुसार, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी २०२५ मा अन्तर्राष्ट्रिय यात्रु संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ ।