बुटवल,१५ फागुन ।
संघीय संसदको शिक्षा,स्वास्थ्य तथा सुचना प्रविधि समितिले रूपन्देहीको तिलाेत्तमामा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमकाे स्थलगत अवलोकन गरेको छ ।
निजी क्षेत्रकाे लगानीमा निर्माण भइरहेको नेपालकै पहिलो फ्लडलाइट जडित क्रिकेट स्टेडियमकाे आज बेलुका संसदीय टोलीले अवलोकन गरेको हो ।
त्यस क्रममा समितिका सभापति अम्मर बहादुर थापाले अहिलेसम्म राज्यले गर्न नसकेको काम निजी क्षेत्रबाट हुनु आफैमा खुसीको कुरा भएको बताउदै यस्तो कार्यमा राज्यले पनि आवश्यक सहयोग गर्नुपर्नेमा जाेड दिए ।
यतिठुलाे लगानीमा निजी क्षेत्रबाट खेलकुदमा लगानी भइरहेको सुन्दा आफुलाई नेपालमा यस्तो पनि मान्छे छन् र ! भन्ने जस्तो लागेको स्मरण गर्दै सभापति थापाले देश निर्माणमा राज्य मात्रै नभएर निजी क्षेत्रबाट पनि लगानी गर्न सकिन्छ भन्ने यो उदाहरणीय कार्य भएको बताए ।
सरकारले बनाएका क्रिकेट रंगशालामा अझैसम्म फ्लड लाइट जडान गर्न नसकेको अवस्थामा निजी क्षेत्रबाट सम्भव बजाएर देखाइदिएकाे भन्दै उनलेे निर्माणकर्तालाई संसदीय समितिले मात्रै नभएर सरकारले नमन गर्नुपर्ने बिचार ब्यक्त गरे ।
राष्ट्रलाई चिनाउने र मानिसलाई स्वस्थ राख्ने माध्यमनै खेलकुद भएको भन्दै सभापति थापाले निजी क्षेत्र देश निर्माणमा यसरी जाेडिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा समिति सदस्य सांसद देवेन्द्र पाैडेल र छबिलाल बिश्वकर्माले देशकै मध्ये भागमा अवस्थित यो रंगशालाले ठूलो सम्भावना बाेकेकाे भन्दै यसको दिगोपना र पहुँच मार्ग,बिद्युतलगायका राज्यका तर्फबाट उपलब्ध गराउनुपर्ने सेवा सुविधा सहजरूपमा उपलब्ध गराउनुपर्ने बताए ।
त्यसका लागि आफुहरूले सहजिकरण गर्ने प्रतिवद्वता समेत उनिहरूले जनाए ।
स्टेडियमका कार्यकारी निर्देशक बिनाेद कुँवरले यसमा
लगानी आफ्नो भए पनि यो राज्यकै सम्पत्ति भएको बताए ।
बैदेशिक राेजगारीका क्रममा आफुहरू बिदेशमा रहे पनि देशमा एउटा नमुना योग्य काम गराै भन्ने भावनाले नेपालमा क्रिकेट स्टेडियममा लगानी गरेको उल्लेख गरे ।
नेपालमा फ्लड लाइटसहितकाे अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमकाे अभाव खड्किएकाे भन्दै उनलेे देशमा क्रिकेटको राम्रो सम्भावना देखेर क्रिकेटमा लगानी गरेको बताए ।
उनलेे आगामी दुई बर्ष भित्र २५ हजार दर्शक क्षमताको प्याराफिट निर्माण गरिसक्ने योजना अनुसार काम भइरहेको जानकारी गराए ।
साे अवसरमा तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड,उपप्रमुख जगेश्वरदेवि चाैधरी,रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलगायतले रूपन्देहीको तिलाेत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बन्नु यस क्षेत्रकै गाैरवकाे कुरा भएको भन्दै यसको सञ्चालन र दिगोपनका लागि स्थानीय तहबाट गर्नुपर्ने सबै किसिमका सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए ।
त्यस क्रममा स्टेडियममा जडान गरिएको पाँच वटा फ्लड लाइटकाे परिक्षण समेत गरिएको थियो ।