बुटवल,७ फागुन ।
छाडा चौपाया ब्यवस्थापनको लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने सराेकारवालाहरूले बताएका छन् ।
लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकाे आयोजना र बुटवल उपमहानगरपालिकाकाे समन्वयमा बुधवार बुटवलमा भएको सामुदायिक गाईबस्तुको व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रमला सहभागी सराेकारवालाहरूले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक गाईबस्तु व्यवस्थापनका लागि गौशाला सञ्चालनसम्बन्धी ऐन छिट्टै निर्माण गर्ने बताए ।
छाडा पशु चाैपायाकाे उचित ब्यवस्थापन जरुरी रहेको भन्दै मुख्यमन्त्री आचार्यले आगामी प्रदेश सभाको अधिवेशनमा त्यस सम्बन्धि विधेयक पेश गर्ने तयारी भइरहेको जानकारी गराए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चौपाया ब्यवस्थापनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए । छाडा चौपाया ब्यवस्थापनको लागि प्रदेश स्तरिय गौशाला निर्माणको आवश्यकता रहेको उनले बताए । उनले कपिलबस्तुमा २ हजार विगा जग्गाको ब्यवस्थापन गरेर प्रदेश भरको छाडा चौपायाको ब्यवस्थापन गर्न सकिने बताए । बुटवल उपमहागनरपालिकाले छाडा चौपाया ब्यवस्थापनको लागि सञ्चालन गरेको गौशालाको मुख्यमन्त्री चेतनारायण आचार्यलाई अवलोकन गराउँदै पाण्डेयले प्रदेश सरकारले छिटो गौशाला सञ्चालन सम्बन्धी ऐन निर्माण गर्नुपर्नेमा जाेड दिए । यस्तै पाण्डेयले बुटवलदेखि मुक्तिनाथ जोड्नको लागि प्रदेश सरकारले बुटवलदेखि रानीघाटसम्मको सडकको स्तराेन्नती गर्न माग गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, प्रदेश सरकारका प्रमुख सचिव बावुराम अधिकारी,यस क्षेत्रका स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, मन्त्रालयका सचिव लगायत जनप्रतिनिधि तथा सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।