संघीय सरकारले गर्न नसकेका काम समेत प्रदेश सरकारले आट गरेकोमा खुस ब्यक्त
दाङ,५ फागुन ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
संघीयताले मुलुकमा विकासको ढोका खोलेको बताएका छन् ।
सोमबार लुम्बिनी प्रदेश सभाकाे बैठकलाई सम्बोधन गर्दै उनलेे उक्त कुरा बताएका हुन् । संघीयताले विकासको ढोका खोलेको भन्दै प्रधानमन्त्री ओलीले संघीयताकाे सवलिकरणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए । पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै उनले भगवान गौतमबुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिकस्थलहरूले यो प्रदेशलाई विशेष बनाएको बताए ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, साँस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको उल्लेख गरे । संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उनको भनाइ छ । हालै निर्माणसम्पन्न भैरहवा स्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकको रूपमा व्याख्या गरे । साथै, सिद्धबाबा सुरुङमार्ग लगायतका योजनाहरूले यातायात सहज बनाउने बताउँदै, रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन, र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै, मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । ‘यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन’उनले भने ।
सिंचाइ आयोजना सफल बनाउँदै कृषिलाई प्रवद्र्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उनले जोड दिए । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले बताए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले १ हजार २ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकोमा प्रशंसा व्यक्त गरे । प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको यो अस्पताल भवन पहिलो ठूलो पूर्वाधार भएको उल्लेख गर्दै उनलेे केन्द्र सरकारले १ हजार शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न नसकेको काम प्रदेश सरकारले गर्नु आफैमा महत्त्वपूर्ण भएको बताए ।
यी स्वास्थ्य संस्थाहरूलाई संघ,प्रदेश र स्थानीय सरकार मिलेर प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जाेड दिदै प्रधानमन्त्री ओलीले सहकार्यबाट मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने धारणा राखे ।
उनले प्रविधिको सही सदुपयोगमा पनि जोड दिए । उनले भने,‘मोबाइलमा गरेका कुरा गोप्य हुँदैनन् । अरूले बनाएको चिज हो । डेटा अन्त जान्छ । प्रविधिको धेरै विकास भएको छ । ठीक सदुपयोग गर्न सक्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई पार गर्न तीनै तहका सरकारहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।
साथै, उनले प्रदेशहरूले कानूनी संरचना निर्माण गर्दा संघीय सरकारद्वारा स्थापित मौजूदा कानूनहरूलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिए ।’संघ सरकारले बनाएका मौजूदा कानूनमा टेकेर प्रदेशहरूले विकास गर्नुपर्छ’प्रधानमन्त्रीले ओलीले भने,, ‘प्रदेशहरूले आफै कानून बनाउँदा धेरै कानून संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले मौजूदा कानूनहरूलाई आधार मानेर अघि बढ्न आग्रह गर्दछु ।’