बुटवल,४ फागुन ।
बुटवलमा भाेली साेमबारदेखि अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उदेश्यका साथ बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र नगर खेलकुद विकास समितिको आयोजनामा अन्तर विद्यालय दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता शुरु हुन लागेको हो ।
बुटवल उपमहानगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेल पूर्वाधार र विकासमा फड्को मार्ने गरि लगानी गरेको दाबी गरे । ‘खेलकुद हब बनाउने गरि योजनासहित खेल पूर्वाधार विकास भएको छ ।’– उनले भने । संघिय र प्रदेश सरकारको सहयोगमा नगरभित्र धेरै नया पुर्वाधार र पुराना खेलमैदानलाई मर्मत सम्हारको काम भैरहेको उनले बताए । रुपन्देहीकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आयोजना गर्न ४० लाख रुपैया तथा राष्ट्रिय लनटेनिस प्रतियोगिता आयोजनका लागि १२ लाख रुपैया बजेट बिनियोजना गरेको उनले बताए । यसैगरि एन्फा एकेडेमीमा १३ वर्ष मुनि युवा खेलाडी उत्पादनमा समेत लगानी गरिरहेको उनले बताए । यसका साथै खेलाडी, प्रशिक्षक, पत्रकार सम्मानका कार्यक्रम गरि थप प्रोत्साहनका कार्यक्रम समेत नगरबाट भैरहेको उनले बताए ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।
प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । त्यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए
बुटवल उपमहानगरपालिका वडा नं १२ चारपाला खेलमैदान तामनगर र बुटवल १३ जबई खेलमैदानमा गरि दुई स्थानमा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका म्याच कमिसार हरि प्रसाद श्रेष्ठले बताए । प्रतियोगिता आयोजना हुने मैदान मर्मत र रंगरोगन, रेफ्री र टिम दर्ता लगायतका सबै काम पुरा भएको उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिदैछन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको उनले बताए । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।
चारपाला खेलमैदानमा जितेश्वरी माबि उजिरसिह माबिका बिचमा उद्घाटन खेल हुने छ । यसैगरि कान्ति माबि र एभरेष्ट माबि बिच दोस्रो खेल तथा क्यानन माबि र कालिका मानव ज्ञान माबिका बिचमा तेस्रो खेल हुने छ । यसैगरि सोमबार नै जबई खेलमैदानमा ज्ञानपुन्ज माबि र नहरपुर माबि तथा मोतिपुर माबि र तिलोत्तमा माबिका बिचमा खेल हुनेछ ।