बुटवल,३ फागुन ।
बुटवल उपमहानगरपालिकाले आज ६६ औं स्थापना दिवस मनाउँदै छ । वि.सं.२०१६ साल फागुन ३ गते बटौली बजारलाई बुटवल–खस्यौली नगरपालिका नामाकरण गरिएसँगै
बुटवलले हरेक वर्ष फागुन ३ गते स्थापना दिवस मनाउँदै आएको छ ।
सप्ताहव्यापी कार्यक्रम गरी स्थापना दिवस मनाउन थालेको बुटवलले आज स्थापना दिवस मूल समारोह तथा सम्मान कार्यक्रम आयोजना गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । मूल समारोहमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिका रुपमा आउने उनले बताए ।
कार्यक्रममा स्थानीय राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधिलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । स्थापना दिवस मूल कार्यक्रममा बुटवलभित्रका उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट टोल विकास संस्था, उपभोक्ता समिति, उत्कृष्ट निर्माण व्यवसायी, सञ्चारकर्मीलगायतलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल,६ लेनका फराकिला सडक,राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने एन्फा एकेडेमी तथा फुटबल रंगशाला,निर्माणाधीन अवस्थामा रहेका क्रिकेट रंगशाला,फुटबल खेलमैदान जस्ता राष्ट्रियस्तरका संरचनाले बुटवलको प्रतिष्ठा बदल्दै गएको छ । देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ । बुटवल भौतिक पूर्वाधारमा मात्रै नभई मानव संसाधनका दृष्टिले अगुवा शहरका रुपमा स्थापित हुने नगर प्रमुख खेलराज पाण्डेयकाे विश्वास छ । आफ्नो कार्यकालको ५ वर्षे अबधिमा बुटवल देशकै अगुवा सहरका रुपमा स्थापित हुने भन्दै उनले बर्दघाटदेखि चन्द्रौटासम्मको केन्द्रका रुपमा बुटवल स्थापित हुने क्रममा रहेको उल्लेख गरे ।
बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरेका थिए । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८ साल र पुनः २०३३ देखि २०३६ साल), हरिबहादुर सिंह (पहिलो पटक २०२८मा प्रधानपञ्चमा र यो सहित चार पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं. (२०३०), बृजमान श्रेष्ठ (२०३६–२०३९) प्रधानपञ्च थिए ।
प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोजप्रसाद श्रेष्ठ (२०५४–२०५९) नगरप्रमुख थिए । सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरेका थिए । माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनाबबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बने पनि लोकतन्त्र स्थापना पछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो ।
१५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार सम्हालेका थिए । नेपालको संविधान कार्यान्वयन भएपछिको दोस्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भएका थिए ।
पञ्चाय कालमा हालको बुटवललाई बुटवल–खस्यौली नगरपञ्चायत भनिएपनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालिएको हो । २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख ब्यापारीक केन्द्र तथा प्रमुख शहरका रुपमा स्थापित भएको छ । बिगतमा तिनाउ पारीकाे क्षेत्रलाई बटौली भन्ने गरिए पनि २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थालेकाे पाइन्छ । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलेको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सरेकाे हो । खस्यौलीमा पूर्वाधार थपिदैँ गएपछि बुटवल सहरको रुप लियो । पछिल्लो समय बुटवल आसपासका क्षेत्रमा समेत तिब्र रूपमा बस्ती विस्तार हुँदै गएकाे छ ।
तत्कालीन पाल्पा राज्यका राजा मणिमुकुन्द सेनले आजभन्दा
पाँच सयवर्ष अगाडि काश्मीरबाट व्यापारका लागि कशौधनहरुलाई बुटवलमा ल्याएका थिए भने ब्यापारकै लागि पाल्पा,गुल्मीलगायतका ठाउँबाट नेवारहरु पनि त्यसै सेरोफेरोमा यहाँ आएका थिए । त्यस्तै १९९५ सालतिर मुस्ताङबाट थकालीहरु यहाँ आए । तत्कालीन समयमा यो क्षेत्र व्यापार विनिमयमा प्रख्यात थियो । पहाडबाट ल्याएको घिउ बुटवलमा प्रशोधन गरेर भारतसहितका मुलुकमा पठाइन्थ्यो भने ल्हासाको नुन, सुन, पहाडको जडिबुटी, घिउ, तेलजस्ता सामग्री खरिदबिक्री गर्ने केन्द्रकाे रूपमा स्थापित भएको थियो । बुटवल उप–महानगरपालिकाभित्रको जनसंख्या करिब २ लाखको हाराहारीमा रहेको छ । औपचारिक बसोबासीको संख्या करीब २ लाख भएपनि अनौपचारिक रुपमा यहाँ बसोबास गर्नेको संख्या करीब २ लाख रहेको छ ।