राेल्पा,२९ माघ ।
रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । रा १ ह ५४९१ नम्बरको अटो सुर्पाल-लिवाङ सडक खण्डमा धारापानीतर्फ जाने क्रममा अनियन्त्रित भएर मंगलबार दिउँसो ३ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अटोमा सवार स्थानीय ६५ वर्षीय इन्द्र घर्ती रहेका छन् । उनको घटनास्थलमै मृत्युु भएको हो । दुर्घटनामा अटो चालकसहित दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा चालक रुन्टीगढी-१ का ३८ वर्षीय मनराज नेपाली र अटोमा सवार रोल्पाकै सुनिलस्मृति गाउँपालिका –२ का ६२ वर्षीय मानबहादुर परियार रहेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
अटो सडकदेखि करिब १ सय मिटर मुनि खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए ।