समाजवादी गणतन्त्र अबको आवश्यकता : प्रज्वलन सी

बुटवल,२७ माघ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल र भैरहवामा गरि दुई चरणमा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

रुपन्देहीको उत्तरीभागका पालिकाहरुको बुटवलमा र दक्षिणीभागका पालिकाहरुको भैरहवामा शुक्रबार र शनिवार गरि दुईदिन पार्टी सदस्य तथा अगुवा कार्याकर्ताहरुलाई समेटेर प्रशिक्षण दिइएको साे पार्टीले जनाएको छ ।

पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लाका सयौं अगुवा कार्यकर्ता सहभागी रहेका दुबै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बसन्त श्रेष्ठले नेपालको गणतन्त्रलाई दलाल पुजीपति तथा भ्रष्टहरुले कब्जा गरेको भन्दै पुनः नयाँ खालको आन्दोलन जरुरी रहेको बताए । जनयुद्धबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै समाजवादी गणतन्त्रको लागि जुनसुकै मोर्चाबाट समेत लडाइँ लड्न पार्टी तयार रहेको भन्दै उनले सहिदको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।

कम्युनिस्टहरु सबै परिस्थितिको सामना गर्न तयार रहनुपर्ने बताउँदै उनलेे भारत लगाएत बिश्वका कम्युनिस्ट आन्दोलनहरुबाट समेत शिक्षा लिइ अगाडि बढनु पर्नेमा जोडदिए ।

उनलेे पार्टीको पछिल्लो केन्द्रीय समितिबाट निर्वाचनमा जाने निर्णय भएको बताउँदै भ्रष्ट दलाल सत्ताको भण्डाफोर निर्वाचनको माध्यमबाट गर्नुपर्ने र मुलुकलाई समाजवादमा रुपान्तरण गर्न सबै देशभक्त र कम्युनिस्ट शक्तिहरु एकजुट हुन आह्वान समेत गरे ।

अर्को प्रसङ्गमा उनलेे श्रम र उत्पादनसँग नजोडिएको राजनैनिक नेतृत्वले वास्तविक अर्थमा किसान मजदुरकोपक्षमा काम गर्न नसक्ने उल्लेख गर्दै आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता कार्यकर्ताको अवधारणा अनुसार आफ्नो पार्टिले काम गरिरहेको बताए ।

यसैगरी उक्त प्रशिक्षण कार्यक्रममा समाजवादी मधेसी मुक्तिमोर्चाका अध्यक्ष विनोद उपाध्यायले मधेस आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी तथा मधेसी जनताहरुले ठुलो बलिदानी गरेको बताउँदै आन्दोलनका उपलब्धिलाई रक्षागर्दै नेपाली विशेषताको समाजवाद मार्फत थप ब्यबस्थापन गर्नुपर्नेमा जोड दिए ।

यस्तै पार्टीका केन्द्रीय सदस्य शरद वलीले स्थानीय सत्तामा हुने अनियमितता तथा भ्रष्टाचारहरुको भण्डाफोर गर्नुपर्नेमा जोडदिंदै रुपन्देही जिल्लामा गर्ने संगठन बिस्तार तथा संघर्षका योजनाबारे स्पष्ट पारेका थिए ।

पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही सेक्रेटरी बिरेन्द्र बिकको संचालनमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू, सल्लाहकार,केन्द्रीय प्रतिनिधि सदस्यहरू लगाएतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा एमाले माओवादी राप्रपा लगाएतका बिभिन्न पार्टी बाट दुई दर्जन बढि नेता कार्यकर्ता नेकपामा प्रवेश गरेको जिल्ला सेक्रेटरी बिरेन्द्र बिकले जानकारी दिए ।