Share this News on Social Networking Pages

बुटवल,२३ माघ ।
पाल्पासहित देशका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालय सूचना शाखाका अनुसार पाल्पा,कवानपुर र नुवाकोटमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

पाल्पाकाे माथागढी गाउँपालिका-५ सुर्काबासस्थित सडकमा रहबास खानीबाट खैरेनीतर्फ जाँदै गरेको लु२ख ५९६५ नम्बरको टिपर बुधबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा टिपर चालक ३२ वर्षीय सुनिल गुरूङको घटनास्थलमै मृत्यु भएको हो ।

मकवानपुरकाे मकवानपुरगढी गाउँपालिका-७ खोटारस्थित सडकमा बा२क ६६६४ नम्बरको टिपर बुधबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-७ माथिल्लो जिम्बर बस्ने २४ वर्षीय देवेन्द्र लुङ्वाको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिका-७ कल्चेडीस्थित सडकमा बा३ख ५५४७ नम्बरको बस र बा५८प २८०४ नम्बरको मोटरसाइकल आपसमा बुधबार दिउँसो ठोक्किँदा मोटरसाइकल चालक बेलकोटगढी नगरपालिका-७ बस्ने २२ वर्षीय जीवन राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल नुवाकोटमा उपचारको क्रमम मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, दुर्घटनामा घाइते भएका बसमा सवार १८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।