Share this News on Social Networking Pages

दाङ,२१ माघ ।
लुम्बिनी प्रदेशकाे आठौं स्थापना दिवस सोमबार मनाइएको छ । साेमबार प्रदेश राजधानी दाङको देउखुरीमा एक कार्यक्रमकाबीच स्थापना दिवस मनाइएको हो ।

प्रदेश सरकार र प्रदेश सभाद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले प्रदेशलाई बलियो र स्थापित बनाउन संविधानले दिएको अधिकार पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जाेड दिए । संघीय शासन व्यवस्था लागू भए पनि प्रदेशलाई बलियो बनाउने सवालमा संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा उनीहरूकाे जोड थियो ।

लुम्बिनी प्रदेश स्थापना दिवसको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्था नै संघीय शासन व्यवस्था भएको बताए । उनले जनप्रतिनिधि जनताको सेवक रहेको उल्लेख गर्दै जनताभन्दा माथि कोही नहुने विचार व्यक्त गरे ।

मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारमध्ये प्रदेशलाई अब्बल बनाउन सक्ने गरी लुम्बिनी प्रदेशले काम गरेको दाबी गरे ।

संघीय सरकारसँगको सहकार्य र स्थानीय तहसँगको समन्वयसहितको सह-सम्बन्धबाटै प्रदेशको कार्य सञ्चालनलाई प्रभावकारी पार्न सकिने धारणा उनले बताए ।

पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पुल पुलेसा, कृषि, सिंचाइ, उत्पादन, रोजगारी, उद्यम, पर्यटन क्षेत्रमा स्थान विशेषका आधारमा फरक योजना बनाएर काम गरेको उनकाे भनाइ छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयता भनेकै प्रदेश भएको भन्दै संघीयता कार्यान्वयन नहुदा प्रदेश संरचना प्रति प्रश्न उठ्न थालेको बताए ।

प्रदेश सभा परिसर राप्ती उपत्यका (देउखुरी)मा आयोजना गरिएको दिवसको मूल समारोहमा विभिन्न समुदायका झाँकी प्रदर्शन गरिएको थियो ।