बुटवल,२१ माघ ।
लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय संरचनामा प्रदेशलाई सफल र संमृद्ध वनाउने भूमिका प्रदेशवासीको नै रहेको बताएका छन् ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आज शुभकामना जारी गर्दै सभामुख घर्ती मगरले संघीयतामा तीन तहको संरचना मध्ये प्रदेश संरचना संघीय शासन व्यवस्थाको महत्वूर्ण स्वायत्त संस्था भएको जनाउदै यसको सफल र संमृद्धिको लागी प्रदेशवासीको महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।
प्रदेश सभा र सरकारलाई जनमुखी, जिम्मेवार, प्रभावकारी र मर्यादित बनाई वास्तवमै संघीयताको अनुभूति हुने गरी काम गर्न प्रयत्नशील रहेको जनाउँदै उनले एक्लो प्रयासले सबै कुरा सम्भव हुन नसक्ने उल्लेख गरेका छन् । “संघीयता कार्यान्वयको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तह बीच एक आपसमा समझदारी र सहकार्य जरुरी छ । साझा अधिकारको सम्वन्धमा अझै स्पष्टता र कानुन निर्माणमा संघीय सरकारले सहजीकरण गर्न आवश्यक देखिन्छ ।” शुभकामना सन्देशमा उल्लेख छ ।
“नेपालको संविधान –२०७२ ले संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय संरचना सुनिश्चितता गरेको छ । यो संघीय शासन प्रणालीमा नयां र नौलो संरचना हो । त्यसकारण प्रदेश संरचना संघीयताको मुल मर्मसंग औपचारिकता मात्र नभई वास्तविक मुलभूत तत्व हो ।” उनले शुभकामना सन्देशमा भनेका छन् –“ प्रदेश प्रति जनताको आशा र भरोसा बढाउंदै संघीयताको मुल मर्म र भावनालाई परिपुर्ति गर्न यो दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने छ ।”
भौतिक संरचनाका अभावका बीच स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)मा सेवा प्रारम्भ गरेको र शुन्य संरचनाबाट शुरु भएको लुम्बिनी प्रदेश सभा र सरकारले तिव्र गतिका साथ काम थालेको स्मरण गर्दै उनलेे लुम्बिनी प्रदेशलाई प्रदेशवासी सबैको दिल दिमागमा प्रदेशबाट सरल र सहज सेवा प्रवाहको पद्धतीलाई स्थापित गर्न सकेको खण्डमा मात्र यसले सार्थकता पाउने उल्लेख गरेका छन् ।
जनताले प्रदेशलाई नजिकबाट वुझ्ने, देख्ने र अनुभूति गर्ने गरी नीति कार्यक्रम तय गरी कार्यान्वयन भएको र प्रदेश सभाले प्रदेश संचालनको लागि अत्यावश्यक कानुन निर्माण गरी सरकारद्धारा कार्यान्वयनमा आईरहेकाे पनि सभामुख घर्ती मगरले जनाएका छन् ।
जनताको चाहना र आवश्यकता अनुसार प्रदेश सभाले कानुन निर्माण मात्र गरिरहेको छैन यसको प्रभावकारी कार्यान्वयनको अवस्थाको विषयमा अध्ययन गरी सरकारको काम कार्वाही पारदर्शिताको लागि जोड दिदै आएको सन्देशमा उल्लेख छ ।
लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको माघ २१ लाई प्रदेश स्थापना दिवस मनाउने निर्णय अनुसार यो दिवस मनाउँदै आएको छ ।