Share this News on Social Networking Pages

दाङ,२० माघ ।
प्रदेश स्थापना दिवसकाे अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २१ गते सोमवार सार्वजनिक विदा दिएको छ ।

दाङको देउखुरी स्थित प्रदेश सभा सचिवालय परिसरमा आठौं स्थापना दिवस मुल समारोहको आयोजना गरिएकाे प्रदेश सभा सचिवालयले जनाएको छ ।

स्थापना दिवसको अवसरमा साेमबार प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा मुल समारोह आयोजना गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

साे अवसरमा शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषा सहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिस्पर्धात्मक झाँकी प्रदर्शनमा प्रथम हुनेलाई २० हजार,दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

दिवसलाई भब्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीनदिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो ।

प्रदेश सरकारले दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।