Share this News on Social Networking Pages

गुल्मी,१५ माघ ।
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री ्प्रदीप ज्ञवालीले अवैध आप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले अमेरिकामा रहेका करिब ५० हजार नेपाली प्रभावित हुन सक्ने बताएका छन् । अमेरिकामा ओभरस्टे र अवैध बाटोबाट गएका करिब ५० हजार नेपाली निकाला हुन सक्ने उनको अनुमान छ ।

प्रेस चौतारी गुल्मीले मंगलबार गुल्मीको तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

ट्रम्प प्रशासन अर्थात् त्यहाँको रिपब्लिकन पार्टी गर्भपतनविरोधी भएको भन्दै उनलेे गर्भपतन र सुरक्षित मातृत्वसँग सम्बन्धित सहयोग रोकिने करिब निश्चित रहेको बताए । दोस्रो ट्रम्प प्रशासन जलवायु परिवर्तनको विपक्षमा रहेको दाबी गर्दै ज्ञवालीले त्यससम्बन्धी अमेरिकी सहयोग पनि कटौती हुने आफ्नो विश्लेषण रहेको सुनाए ।

नेपालको व्यापारमा समेत ट्रम्प नीतिको असर पर्न सक्ने उनले बताए । नेपालले ७६ वटा आइटमहरू अमेरिकी बजारमा बिनाकोटा, बिनाभन्सार पहुँच पाएको छ र त्यसले अमेरिकासँगको व्यापार थोरै भए पनि नाफामा रहेको जनाउँदै उनलेे त्यसमा रिभ्यु भयो भने हामीलाई अलिकति घाटा हुने बताए ।

यूएसआईडीमार्फत हुने वर्षको १४/१५ अर्ब रुपैयाँ सहयोग र एमसीसीको एकमुष्ट ५० अर्ब रुपैयाँ लगायतका सहयोगमा केही शीर्षकहरू परिवर्तन भए पनि ठूलो नाेक्सान नहुने उनको आकलन छ ।

ट्रम्पको शासनकालमा अमेरिका–चीन सम्बन्ध तिक्त हुने, व्यापार युद्ध बढ्ने र तनाव चर्किन सक्ने भन्दै उनलेे त्यसको असर नेपालमा पर्ने उल्लेख गरे । त्यस्तो अवस्थामा नेपालले आफ्नो सन्तुलित परराष्ट्र नीतिलाई अझ दृढतापूर्वक अगाडि बढाउन जरुरी रहेको उनको भनाइ छ ।