बुटवल,१४ माघ ।
बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले बुटवलमा सञ्चारग्राम स्थापना गरेरै छाड्ने जिकिर गर्नुभएको छ ।
मिडिया हाउसमा काम गर्ने सञ्चारकर्मीहरुको संरक्षणको लागि बुटवलमा मिडिया ग्रामको स्थापना आवश्यकता रहेको बताउँदै उनले यसमा सहयोग गर्न आग्रह गरे ।
शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चारग्रामको आवश्यकता रहेकोमा जोड दिए । बुद्ध सामुदायिक टेलिभिजनका वरिष्ठ सल्लाहकार समेत रहेका उनले सञ्चार जगतमा आर्थिक समस्या रहेको अवस्थामा स्थानीय तहले सहयोगी भूमिका खेल्दै आएको बताए ।
टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टेलिभिजन अहिले देशभर प्रशारण भईरहेको जानकारी गराउँदै सञ्चार र उपकरणमा आधुनिक बनाउदै ल्यैजादै जानु पर्नेमा जोड दिए । टेलिभिजन देशभर प्रशारण भएपनि लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर समाचार र कार्यक्रम उत्पादन गर्दै आएको बताए । टेलिभिजनले भाषा ,संस्कृतिको संरक्षणको लागि विभिन्न भाषाहरुबाट कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए । समुदायबाट सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनले आवाज विहिन जनताको आवाज बन्दै गएको उल्लेख गरे ।
टेलिभिजनका कानुनी सल्लाहकार प्रध्यापक डाक्टर बुद्ध बहादुर थापाले सरकारले राज्यको चौथों अगं प्रेस जगत तथा बुद्धिजिविहरुलाई बेवास्ता गर्दै आएको बताए । मिडिया संरक्षण गर्नु तीनै तहका सरकारको दायित्व रहेको भन्दै उनले पछिल्लो समयमा मिडिया कमजोर बन्दै जाँदा लोकतन्त्र समेत कमजोर बन्दै गएको बताए ।
टेलिभिजनका पुर्व अध्यक्ष तथा निर्देशन समितिका संयोजक बरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षत्रीले संस्था बचाउने दायित्व सञ्चालक सदस्य रहेको बताउँदै समय सापेक्ष लगानी बढाउनु पर्नेमा जोड दिए ।
टेलिभिजनका सल्लाहकार रामराज पोखरेलले मिडिया हाउसले पत्रकारहरुको हकहित संरक्षणसँगै क्षमता बृद्धिमा समेत लाग्नु पर्ने बताए ।
निवर्तमान अध्यक्ष एवं निर्देशन समिती सदस्य पृथबहादुर फौदारले टेलिभिजनको स्थायी आम्दानी नहुासम्म सहज ब्यवस्थापन गर्न नसकिने उल्लेख गरे । टेलिभिजनका सल्लाहकार रिता सेन वलीले टेलिभिजनको जग्गा खरिद गरिएको भएपनि उपयोग गर्न नसकेको भन्दै प्रयोगमा ल्याउनुपर्नेमा जोड दिइन् ।
टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले टेलिभिजनको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै टेलिभिजनका विभिन्न शाखाहरु लैङ्गिक मैत्री बनाईएको दाबी गरे । टेलिभिजनबाट उत्पादन हुने समाचार तथा कार्यक्रमहरु समुदायमा नै आधारित रहेको उनलेे बताए ।
यस्तै साधारणसभामा कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको स्वागत र सञ्चालक डोलराज बस्यालको ध्यन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको सचिव जेबि गुरुङको जानकारी दिए ।
साधारण सभामा अध्यक्ष ज्ञवालीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसहमतिले पारित भएको सचिब जेबि गुरुङले बताए । साधारणसभाकै अवसरमा बजार प्रतिनिधि बसन्ती कार्कीलाई उत्कृष्ट कर्मचारीकोरुपमा सम्मान समेत गरिएको टेलिभिजनले जनाएको छ ।