Share this News on Social Networking Pages

भैरहवा,१३ माघ ।
बुटवल स्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ ।

सहकारी ठगी र सङ्गठित अपराधको अभियोग लागेका लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित भएका छन भने उनको थुनछेक बहस सकिएको अदालत स्रोतले जनाएको छ ।

शुक्रवार बहस नसकिएपछि आज आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बुधवारदेखि लामिछाने होटेलमा बसेर अदालतमा नियमित हाजिर भएर मुद्दाको प्रतिवाद गर्दै आइरहेका छन् ।

आइतबार प्रतिवादीका वकिल रमण श्रेष्ठ, राजेन्द्र सेढाईसहितका बाँकी वकिलले बहस गरेपछि जाहेरवालाका तर्फबाट र सरकारी वकिलहरूले जवाफी बहस गरेका छन् ।

बहस सकिएपछि न्यायाधीश योगीले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गर्ने भन्ने आदेश दिने दिनेछन् ।

थुनछेक बहस भैरहदा रूपन्देही जिल्ला अदालत बाहिर रास्वपा नेता कार्यकर्ता तथा समर्थकहरूकाे भिडभाड भएको छ ।

पार्टी सभापति लामिछानेलाई अन्य अदालतले जस्तै धराैटीमा छाड्ने अपेक्षासहित पार्टीका नेता कार्यकर्ता तथा समर्थकहरू
भैरहवा आएको रास्वपा लुम्बिनी प्रदेश सहमहामन्त्री शरदबन्धु डिसीले बताए ।

न्यायालय प्रति आफुहरूकाे पुर्ण विश्वास रहेको भन्दै उनलेे अदालतबाट न्याय मिल्ने विश्वास ब्यक्त गरे ।

रवि गत बुधवार जिल्ला अदालतमा उपस्थित भएका थिए । जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्मा जमानीमा बस्दै आएका छन् ।

न्यायाधीश योगीको इजलासमा बिहीबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिलहरूले, शुक्रवार जाहेरी तर्फका वकिल र प्रतिवादीका वकिलले बहस गरेका थिए ।

लामिछानेसहित २२ जनालाई ५५ करोड बढी बिगोसहित पूरक मुद्दा दर्ता गरिएको छ । मुद्दामा लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेललाई छुट्टै १० करोड ९९ लाख र रविको व्यक्तिगत २ करोड बिगो माग गरिएको छ ।