बुटवल,७ माघ ।
नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारण सभा साेमबार बुटवलमा सम्पन्न भएको छ ।
साधारणसभाकाे एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गरेका हुन् ।
साे अवसरमा लुम्बिनी प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री पन्थीले डेरी ब्यवसायी तथा दुग्ध उत्पादक कृषकका समस्या बारे प्रदेश सरकार जानकार रहेको भन्दै समस्या समाधानका लागि आफुले जतिसक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।
दुग्ध क्षेत्रमा देखापरेका उद्योगी व्यवसायीहरुको समस्या समाधानको लागि ऐन संसोधन गर्नुपरे पनि ऐन संसोधन गर्न आफु र प्रदेश सरकार तयार रहेको बताए ।
लुम्बिनी प्रदेश विस्तारै दुध र दुग्धजन्य बस्तुमा आत्भर्निर बन्दै गएको भन्दै मन्त्री पन्थीले प्रदेश सरकार सधै किसान र व्यवसायीहरुको साथमा रहने प्रतिवद्वता समेत ब्यक्त गरे ।
मन्त्री पन्थीले भने–‘दुध र दुग्ध क्षेत्रमा के कस्ता समस्या छन्, आउनुहोस्, हामी समस्या समाधानको लागि हातेमालो गर्न तयार छौैं ।’
कुनै पनि समस्याको समाधान सामुहिक पहलबाट संभव भएको भन्दै प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पन्थीले सोही अनुसार योजना बनाएर अगाडी बढ्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा पशुसेवा विभागका उप महानिर्देशक डा. लेखराज दाहालले अवको कृषि क्रान्ति यन्त्रीकरण र नविनतम प्रबिधिमा आधारित हुनुपर्ने बताए । दुधमा गुणस्तर कायम गर्न नसके अन्य देशमा निर्यात गर्न नसकीने भन्दै उनलेे दुध उत्पादक किसान, संकलन कर्ता, उद्योगी सबैले अन्तराष्ट्रिय स्तरको मापदण्डमा रहेर दुधको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिए । नेपालबाट पनि विभिन्न देशमा निर्यात गर्नको लागि विभागले विभिन्न निकायसंग सहकार्य गर्दै अगाडी बढेको बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले पनि अवको कृषि क्रान्ति भनेको यन्त्रीकरण र प्रबिधिमैत्री हुनुपर्नेमा जोड दिए । नेपालमा उत्पादित दुध तथा दुग्ध जन्य पदार्थ बंगलादेश,श्रीलंका लगायतका देशमा निर्यात गर्न सकिने सम्भावना रहेको भन्दै उनलेे त्यसका लागि गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।
साधारणसभामा नेपाल डेरी एशोसीयसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले सरकारले लागानी सम्मेलन गरी विदेशी लगानीकर्ताहरुलाई रातो कार्पेट ओच्छाएर बिभिन्न किसिमका सहुलियत दिदै गर्दा स्वदेशी उद्योगी, स्वदेशी कच्चा पदार्थको प्रयोग गरी विभिन्न बस्तु उत्पादन गरी बजारीकरण गर्दै आएका स्वदेशी ब्यवसायीहरुलाई भने हेलाको दृष्टिकोणबाट हेर्ने गरेको गुनासो गरे ।
नेपालकाे कृषि तथा उद्योग नीति ठिक नहुँदा कृषक तथा उद्योगी ब्यवसायी पलायन भइरहेको भन्दै उनलेे नेपाली किसानहरुको उत्पादन अन्तराष्ट्रिय बजारमा लैजान पनि सरकारले नीतिगत सुधार गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल डेरी एशोसीयसनका सल्लाहकार तथा पुर्व मेयर हिरा बहादुर खत्री, दुग्ध विकास आयोजना लुम्बिनी वितरण आयोजना प्रमुख कृष्णप्रसाद अर्याल, नेपाल डेरी एशोसीयसनका पुर्व केन्द्रीय अध्यक्ष सुमित केडीया, घरेलुु तथा साना उद्योग महासंघ लुम्बिनीका बरिष्ठ उपाध्यक्ष गणेश प्रसाद अधिकारी,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल,उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, सम्मानित व्यवसायी लिलाधर शर्मा लगायतले आ आफ्नो भनाई राखेका थिए ।
साे अवसरमा एशोसीयशनले संचारकाे क्षेत्रबाट दुध र दुग्धजन्य बस्तुको प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएको भन्दै दुई जना पत्रकारलाई नगद सहित सम्मान गरिएको थियो ।
कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका कृषि पत्र डट कमका सम्पादक तथा प्रकाशक कृष्ण खनाल र आर्थिक आवाज का सुरेन्द्र पौडेललाई नगद सहित सम्मान गरिएको एशोसीयशनका पुर्ब प्रदेश अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा एशोसीयशनका पुर्ब प्रदेश अध्यक्ष कृष्ण भट्टराईसहित बिभिन्न डेरी उद्योगीहरूलाई समेत सम्मान गरिएको थियो ।