बुटवल,६ माघ ।
नेपाल डेरी एशोसिएशनकाे २६ औं केन्द्रीय साधारण सभा साेमबार बुटवलमा हुंने भएको छ ।
एशोसिएशनले आज बुटवलमा पत्रकार सम्मेलन गरी साधारणसभाकाे तयारी बारे जानकारी गराएको हो ।
स्थापना दिवसको अवसरमा बुटवलमा साधारण सभा आयोजना गरिएको एशोसिएशनले जनाएको छ ।
बुटवल स्थित महाराजा रिसोर्टमा हुने बार्षिक साधारणसभाकाे तयारी पुरा भएको एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए ।
साधारणसभामा सातै प्रदेश बाट दुई सय बढी डेरी उद्योगी सहभागी हुने अध्यक्ष दाहालले बताए ।
कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट उद्योगीहरुलाई सम्मान, दीर्घ सम्मान,राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारीता सम्मान, उत्कृष्ट किसान सम्मान, युवा ब्यवसायी सम्मान गरिने उनले बताए ।
दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधामात्र बजारमा खपत भईरहेको उनको गुनासो छ ।
निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको र ५० हजार जनालाई रोजगार दिन सफल भएको उनले दाबी गरे । डेरीको उद्योगीकाे समस्या समाधानका लागि आफुहरु निरन्तर संस्थागत रुपमा लागेको बताउदै उनलेे आफुहरु सधै डेरी उद्योग र किसानको पक्षमा रहेको दाबी गरे ।
केही उद्योगहरुले कुनै बेला एकलौटी दुधको मुल्य घटाउने कुरा गरिरहदा आफुहरुले बिरोध गरेको स्मरण गर्दै उनले दुधको लागत घटाउने विषयमा ध्यान केन्द्रीत गरेको बताए ।
नेपालमा उपभोक्ताको खानाखाने बानी (फुड हेबिट) को कारण खपतमा प्रभाव पार्ने गरेको भन्दै उनलेे सरकारबाट ४ उद्योगलाई प्रति लिटर २५ रुपैयाका दरले अन्तशुल्क करको बक्यौता लगाएर गलत गरेको बताए ।
साधारणसभामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशुसेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधिहरुको उपस्थितिमा दुग्ध क्षेत्रको बारेमा वृहत अन्तरक्रिया गरिने उनले बताए । घरेलु, साना, मझौला र ठूला डेरी गरि २७० जना ब्यवसायीहरु एसोसियसनमा दर्ता रहेको महासचिव हेमराज खनालले बताए ।
कार्यक्रममा एसोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले नेपालको राष्ट्रिय उत्पादनमा लुम्बिनी प्रदेशबाट कुल खाद्यान्न उत्पादनमध्ये दुधजन्य उत्पादन ४ लाख ८ हजार २०६ मेट्रिक टन अर्थात १७.९ प्रतिशत रहेको बताए । प्रदेशमा उत्पादित कुल दुधमध्ये १५ प्रतिशतमात्र औपचारिक क्षेत्रबाट बजारमा आउछ भने ३५ प्रतिशत अनौपचारिक क्षेत्रमार्फत बिक्री वितरण हुदै आएको छ भने ५० प्रतिशत दुध घरमा नै खपत हुनेसमेत बताए ।
बुटवलको महाराज होटलमा आयोजना हुने उक्त साधारण सभाको लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनशेपन्थी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
साधारणसभामा सहभागी हुन नेपाल डेरी एशोसिएशनका केन्द्रीय अध्यक्षसहित पदाधिकारी, सदस्यहरु तथा डेरी एशोसिएसनका अगुवाहरु बुटवल आइसकेकाे डेरी एशोसिएसन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।