Share this News on Social Networking Pages

भैरहवा,६ माघ ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेसहित ४२ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।

बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको अभियाेगमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित ४२ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले मुद्दा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले मुद्दासँग सम्बन्धित एक ट्रक (प्रहरीको वान्टन) मुद्दामा लाग्ने प्रमाण र मिसिल अदालत पठाएपछि त्यसलाई रुजु गरेर जिल्ला अदालत रूपन्देहीले आइतबार साँझ दर्ता गरेको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा थप अभियोग र पुरक अभियोगबाट ४२ जना विरुद्ध आज रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता प्रेमराज पाैडेलले जानकारी दिए ।

लामिछाने गृहमन्त्री भएको बेला सहकारी ठगीमा उनलाई उनमुक्ति दिँदै २८ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । त्यसपछि थप अभियोगबाट १७ जना र पुरक अभियोगबाट लामिछानेसहित २२ जना विरुद्ध मुद्दा दर्ता भएको श्रेष्तेदार ज्ञवालीले बताए ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन सम्बन्धि मुद्दाको इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।

सहकारीको रकम अपचलन सम्बन्धमा यसअघि लामिछाने गृहमन्त्री भएको बेला एक हजार आठ सय ३१ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ अपचलन गरेको दाबी २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

सुप्रिम सहकारीबाट मात्रै रबी,जिबि,छबि संलग्न गाेर्खा मिडियामा १० करोड १९ लाख रूपया गैरकानुनी रूपमा गएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

जिबी,रबि,छबि लगायतका प्रतिवादीहरूलाई संगठित अपराध र दिनेश राेकालाई सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दर्ता भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा भएका थिए । कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा लामिछाने थुनामुक्त भएका हुन् ।

कास्की प्रहरीको नियन्त्रणमा रहेका बेला लामिछानेलाई गत कात्तिक २७ गते भैरहवा ल्याएर सुप्रिम सहकारी रकम अपचलनका सम्बन्धमा साढे २३ घण्टा बयान लिइएको थियो । जसमा उनले इन्कारी बयान दिएका थिए ।