बुटवल,६ माघ ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले राजनीतिक परिवर्तन बाट प्राप्त उपलब्धिकाे रक्षा र थप उपलब्धीहरुका लागि निरन्तर संघर्ष युगको माग भएको बताएका छन् ।
पार्टीकाे ३४ औं स्थापना दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै महासचिव अस्लामीले उक्त कुरा बताएका हुन् ।
नेपालकाे संविधान २०७२ पछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित र संस्थागत हुदै गएको भन्दै उनलेे यो राजनीतिक व्यवस्था भनेको परिवर्तन र अग्रगमन वा प्रगतिका पक्षधर सबै नेपालीहरुको साझा उपलब्धी भएको जनाएका छन् ।
प्राप्त उपलब्धिकाे रक्षा र थप उपलब्धि प्राप्तिका लागि निरन्तर संघर्ष युगको माग र आवश्यक्ता भएको बताउदै महासचिव अस्लामीले उपलब्धीलाई आवरणमा राखेर निहित स्वार्थ, कुण्ठालाई प्रसय दिने कदम र अभीष्ट झाङ्गिदो रहेको तर्फ सचेत गराएका छन् ।
नेपालकाे संविधान २०७२ का हिमायतीहरु नै संविधानमाथि लात मारीरहेकाे भन्दै उनलेे स्थापित विधि विधान र मूल्य मान्यताहरुलाई “ चाहिदाको भाँडो, नचाहिदाको ठाँडो” भन्ने नेपाली उखान जस्तो बनाएकाे आराेप लगाएका छन् ।
जननिर्वाचित शासक र समाजका कथित अगुवाहरुबाट निरन्तर हुँदै गरेका यस्ता रवैयाका कारण आज मूलुक अविश्वास र निराशाको भूमरीमा रन्थनिएको जनाउँदै महासचिव अस्लामीले समाज र मूलुक निर्माणको लागि निःस्वार्थ र महान सपना देख्ने सबै नेपालीहरुको असल नेतृत्वको खडेरीले मूलुक आक्रान्त रहेको उल्लेख गरेका छन् ।
यस्तो परिस्थितिबाट मुक्त हुँदै समाज र देशलाई भरोसा दिलाउन “जनमुक्ति विचारधारा” लाई आत्मसाथ गर्दै संघर्षशिल साथै विभिन्न आरोह अवरोहको अनुभव प्राप्त राष्ट्रिय जनमुक्ति पार्टीले यथार्थपरक भई सबै परिस्थितिको गम्भीर समिक्षा गरेर अगाडि बढ्न सक्नु पर्नेमा जाेड दिदै उनलेे विगत तीन दशक बढी समयको राजनीतिक सांगठनिक अनुभवलाई राष्ट्रिय पूँजीको रुपमा स्थापित गर्न सकौं भन्ने शुभेच्छा सहित पार्टीको ३४ औं स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
पार्टीले मूलुकमा व्याप्त अन्याय अत्याचार, विभेद, कुशासन र भ्रष्टाचार साथै सबै खाले व्यथितिको अन्त्यका लागि एवं यहाँको विविधताको उचित व्यवस्थापन सहित देशमा स्थायी शान्ति र दिगो विकासको लागि स्थापनाकालदेखि नै निरन्तर आवाज बुलन्द गर्दै आईरहेको स्मरण गर्दै उनलेे पार्टी जीवनमा विभिन्न उतारचढावका वाबजुद लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै यहाँ सम्म आईपुग्नु राजनीतिक साँगठनिक जीवनमा महत्वपूर्ण पक्ष भएको उल्लेख गरेका छन् ।