बुटवल,३ माघ ।
रूपन्देहीको भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यकाे औसतमा ८० प्रतिशत हाराहारीमा मात्रै राजस्व संकलन गर्न सफल भएको छ ।
चालु आर्थिक बर्षकाे साउनदेखि पुससम्मको राजस्व संकलन औसतमा ८० प्रतिशत माथि रहेको कार्यालयले जनाएको छ ।
भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८१/०८२ का लागि १ खर्ब ९ अर्व ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा ४६ अर्ब २ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा भन्सार राजस्व संकलन बढी भएको कार्यालयले जनाएको छ । भन्सार विभागले दिएको लक्ष्य भेटाउन नसकेके पनि निराश हुने गरी राजस्व संकलन नघटेको प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले बताए ।
उनका अनुसार गत वर्ष यही अवधिमा ३९ अर्व १४ करोड राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ३० दशमलव ६२ प्रतिशत हो । तर, अहिले चालू आर्थिक वर्ष लक्ष्यको ४२ प्रतिशत बढी राजस्व संकलन भएको छ ।
साे कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको ६३ दशमलव २४ प्रतिशत संकलन गरेको थियो ।
कार्यालयले साउनमा ८३ दशलव ५३ प्रतिशत, भदौमा ९० दशमलव ५ प्रतिशत, असोजमा १०० दशमलव ३९ प्रतिशत, कार्तिकमा ८३ दशमलप १७,मंसिरमा ८२ दशमलव १७ र पुसमा ८० दशमलव ६२ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ । गत तीन वर्षदेखि लगातार भन्सार राजस्व संकलन घटेकोमा चालु आर्थिक वर्षको सुरुवातदेखि नै सुधार भइरहेको साे कार्यालयकाे दाबी छ । शतप्रतिशत राजस्व संकलन नभए पनि औसतमा ८० प्रतिशतमाथि रहेको प्रमुख भन्सार अधिकृत रेग्मीकाे भनाइ छ ।
२०७८ पुस ५ बाट नेपाल राष्ट्र बैंकले १८ वटा शिर्षकका बिलासिताका विभिन्न वस्तुहरुको आयातमा अनिवार्य प्रतितपत्र (एलसी) खोलेर शतप्रतिशत र दुईवटा शिर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै वस्तु आयातमा कमी हुँदै आउँदा राजस्व संकलन खुम्चिन गएको कर्मचारीहरूकाे तर्क छ ।
भन्सार कार्यालयका अनुसार बेलहिया नाकाबाट भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जीप, कार र भ्यान, पेट्रोल, मोबाइल, टेलिफोन, इलेक्ट्रिक कार, जीप, भ्यान, एमएस विलेट, टायल, डिजेल, मार्बल स्ल्याब र एलपी ग्यास रहेको छ ।