बुटवल,२९ पुस ।
बुटवलमा देशकै सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ ।
नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा फागुनको दोस्रो हप्तादेखि प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता बुटवल २०८१ हुने भएको हो ।
आयोजक नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि बुटवल उपहानगरपालिकाको सहयोगमा देशकै सर्वाधिक राशीको स्नुकर प्रतियोगिता गर्न लागिएको जानकारी गराएको हो ।
एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले यसअघि काठमाडौंमा २ लाख ५५ हजार रुपैया धनराशीको प्रतियोगिता भएको भन्दै बुटवलमा हुने प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ३ हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।
प्रतियोगिताकाे उपविजेतालाई नगद १, लाख १ हजार रुपैया, हाईएस्ट ब्रेक ५५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद १० हजार रुपैया, साईजिङ स्टार र डिसिप्लिन प्लेयरलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगिताका लागि बुटवल उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिह कम्प्लेक्सका सञ्चालक महेशमान सिहबाट १ लाख तथा आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवबाट दोस्रो पुरस्कार बराबरको १ लाख रुपैया सौजन्य भएको अध्यक्ष पुनले जानकारी दिए ।
पछिल्लो समय स्नुकर खेल बौद्घिक खेलको रुपमा पहिचान बनाउदै गएको भन्दै उनले रुपन्देही स्नुकर खेलको उर्वरभुमी भएको बताए ।
भर्खरमात्र बुटवलका रेगन श्रेष्ठले श्रीलंकामा सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई अन्तराष्ट्रिय मंचमा पहिलो पदक दिलाउन सफल भएको बताउदै पदक विजेता श्रेष्ठलाई सम्मान गर्ने तयारी भएको उल्लेख गरे । देशभरका अधिकांंश जिल्लाबाट प्रतियोगी खेलाडीहरु सहभागी हुने भन्दै उनलेे खेलाडीहरुलाई आवासको ब्यवस्था आयोजकबाट गरिने तथा क्वाटरफाईनल खेलबाट खेलाडीहरुलाई आवास र खानाको समेत ब्यवस्था रहेको उनले बताए । करिब १० दिनमा प्रतियोगिता सक्ने लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा बुटवल नगरपालिकाका प्रवक्ता शिव राना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाललगायतले आ आफ्नो भनाइ राखेका थिए ।
खेल संयोजक विजय गुरुङले प्रतियोगितामा भाग लिन फागुन ७ गतेसम्म अन्तिम समयावधि तोकिएको बताए । प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडी सहभागि हुने संघका सचिव प्रकाश क्षेत्रीले बताए ।