बुटवल,२९ पुस ।
भारतीय ओभरलोड सवारी साधनले नेपाली सडक ध्वस्त हुनुका साथै नेपाली व्यवसायी मारमा परेको ट्रक ब्यवसायीहरूले बताएका छन् ।
भन्सार विन्दुमा पल्ट्रीको व्यवस्था पुर्ण रुपमा कार्यान्वयन नहुँदा नेपाली ट्रक व्यवसायीहरुले विजनेस नपाउने र ट्रक व्यवसायमा भएको करोडौँको लगानी समेत जोखिममा परेको उनिहरूकाे गुनासो छ ।
सोमवार भैरहवामा भेला भएका यस क्षेत्रका ट्रक ब्यवसायीहरूले उक्त कुरा बताएका हुन ।
ओभरलाेडकै कारण सडक बिग्रिएपछि केही साता अगाडी मात्रै बेलहिया देखी भैरहवाको बुद्ध चोक सम्मको सडक पुननिर्माण गरिएको ट्रक व्यवासीहरूले बताए ।
ओभरलोड भएका सवारी साधनहरूले नेपालको सडक पूर्वाधारमा बिग्रिरहेको र दुर्घटनाको दर बढिरहेको ट्रक व्यवासयी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले बताए ।
यातायात व्यवस्था ऐनमा ओभरलोडका गाडीहरु भन्सार विन्दुमै रोक्नु पर्ने र नेपाली गाडीमा भार खनाएर मात्र लैजानु पर्ने व्यवस्था भए पनि भन्सार प्रशासन र प्रहरी प्रशासनको उदासिनताले कार्यान्वयनमा आउन नसकेको लुम्बिनी प्रदेश यातायात व्यवसायी समितिका संयोजक यम प्रसाद पाण्डेकाे गुनासो छ । ओभरलोड बाेकेका सवारीलाई जरिवाना गराएर उमुक्ति दिइदै आइएको उनलेे बताए ।
भन्सार विन्दुमा पल्ट्री गर्नुपर्ने कानुनी व्यवस्था पुर्ण रुपमा कार्यान्वयन नहुँदा नेपाली ट्रक व्यवासयीहरुले विजनेस नपाउने र ट्रक व्यवसायमा भएको करोडौँको लगानी समेत जोखिममा परेको पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले बताए ।
गत शुक्रवार बुटवल नारायणगढ सडकको नवलपरासी(बर्दघाट सुस्ता पूर्ण)को विनय खोलाको पुल भारतीय ओभरलोड गाडीकै कारण भासिन पुगेको थियो । भारतीय हेभी ट्रकले ठक्कर दिंदा पुल भाँचिएको बताइएको छ । पुस २६ गते दिउसो एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक पुलबाट पूर्वतर्फ पास हुने क्रममा पुल एक्कासी भाँचिएको थियो । उक्त भारतीय ट्रकले हेभी जेनेरेटर मेसिन बोकेको थियो । यस्तै,दुई वर्ष अघि सोही सडकको रुपन्देहीको खेरेनीमा रहेको पुल पनि ओभरलोडकै कारण भासिन पुगेको थियो ।
सडक विभागले निर्धारण गरेको नेपाली सडकको बनावट र भारवहन क्षमता ४० टन मात्र रहेको छ । यस्तै, ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १७ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन सम्म मात्रै लोड बोक्न पाउने र नेपाली सडकले थाग्न सक्ने भार रहेको छ । तर सिमावर्ती नाकाबाट नेपाल भित्रने भारतीय मालवहाक सवारीले ९० टन सम्म बोकेर हिड्ने गरेका छन् ।