Share this News on Social Networking Pages

बुटवल,१४ असोज ।
रुपन्देहीको घाघरा खोलामा बगेर बेपत्ता भएका दूध बोक्ने गाडीका चालक र सहचालक मृत अवस्थामा फेला परेका छन् । बगाउँदा शनिबारदेखि बेपत्ता भएका दुईजनाको शव भेटिएको छ ।

शनिबार बिहान रूपन्देहीकै मर्चवारबाट दूध लिएर भैरहवा आउँदै गरेको भे १ च २६७६ नम्बरको जीपमा सवार चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहानदेखि खटिएको प्रहरी टोलीले ७ बजे सहचालकको र साढे १० बजे चालकको शव फेला पारेको हो । शव फेला पारेपछि परिवार र स्थानीयले आएर शवको सनाखत गरेका र शव परिवारलाई जिम्मा लगाइएको एसपी राठौरले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडि रहेको घाघरा खोलाबाट हराएको जीप आइतबार सांझ फेला परेको थियो। शनिबारबाट नै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी कार्य जारी राखेका थिए ।

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दूध संकलन केन्द्रबाट दूध लिएर जीप शनिबार बिहान ५ बजे भैरहवा आउँदै गरेको थियो। सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट हराएको थियो ।