बुटवल, १३ असोज ।
हिजो (शनिबार) बिहान देखि हराइरहेको दुध बोक्ने गाडी
रूपन्देहीको भैरहवा स्थित घाघरा खोलामा फेला परेको छ ।
रूपन्देहीको सम्मरीमाई दुध बोकेर भैरहवातर्फ आइरहेको भे १ च २६७६ नम्बरको जीप शनिबार बिहानदेखि हराइरहेको थियो ।
जीप चालक प्रकाश तामाङ र सह–चालक उमेश लोध भने अझै बेपत्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले जीप फेला परेको जानकारी दिए ।
फेला परेको गाडी क्रेन मगाएर निकाल्ने प्रयास भइरहेको र
बेपत्ता चालक र सह–चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउँदै थियो ।
सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट जीप हराएको आकलन गरिएको थियो ।
शनिबारदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरे पनि आइतबार मात्रै जीप फेला परेको हो ।