काेषकाे कार्यालय अगाडि धर्नादेखि तालाबन्दी सम्मका आन्दोलनका कार्यक्रम
बुटवल,११ असाेज ।
लुम्बिनी विकास कोष बिरूद्व आन्दोलत निर्माण व्यवसायीहरुले दाेस्राे चरणकाे आन्दोलनका कार्यक्रम घाेषणाा गरेका छन् ।
शुक्रबार लुम्बिनी निर्माण व्यवसी संघले बुटवलमा पत्रकार सम्मेलन गरी दाेस्राे चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
गाैतमबुद्वकाे जन्मस्थल लुम्बिनीको साैन्दर्यकरण लगायतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिएर आलटाल गरेको भन्दै निर्माण व्यवसायीहरु केहि दिनदेखि आन्दोलनरत छन् ।
निर्माण ब्यवसायीलाई भुक्तानीका लागि संघीय सरकारबाट विकास कोषलाई रकम पठाए पनि भुक्तानी नदिनुले काेषका पदाधिकारी तथा कर्मचारीकाे नियतमाथि शंका उत्पन्न भएको उनिहरूकाे भनाइ छ ।
काेषका पदाधिकारीको स्वार्थ तथा आन्तरिक द्वन्दका कारण निर्माण व्यवसायीलाई काम गरेको रकम भुक्तानी नदिएकाे भन्दै उनिहरूले पदाधिकारीहरूकाे जुंंगाकाे लडाइँका कारण निर्माण ब्यवसायी मारमा परेको बताए ।
परियोजना अन्तरगत काम गरिरहेका लुम्बिनी-एएनके-खड्का कृष्ण जेभी, लामा-एपेक्स-कमलजीत जेभी, रमण-गजुरमुखी जेभी र खानी-अर्घाखाँची-बाबुल जेभीले गत असार मसान्तअघि नै प्राप्त गर्नुपर्ने करिब ५० करोड भुक्तानी नपाएको संघका अध्यक्ष मञ्जु भुसालले जानकारी दिइन् । निर्माण व्यवसायीहरुले कोषसमक्ष भुक्तानी प्रक्रिया तुरुन्तै सरलीकरण गर्न र यसमा भएका ढिलासुस्तीहरु समाधान गर्न पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि संघले थप आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेका जानकारी गराइन् ।
निर्माण व्यवसायीहरुले शुक्रबार पत्रकार सम्मेलनपछि लुम्बिनी विकास कोष अगाडि रिले अनसन गर्नुका साथै असोज १३ गते आइतबार विकास कोषको ५ नम्बर गेट अगाडि रिले अनसन तथा असोज १५ गतेदेखि विकास कोषका सम्पूर्ण गेटमा ताला लगाउने कार्यक्रम रहेका संघका सल्लाहकार जमिन कक्षापतिले जानकारी दिए । लुम्बिनी शान्ती क्षेत्र भएपनि बिकास कोषको नियतका कारण आफूहरु आन्दोलित हुन बाध्य भएको बताउँदै उनले यसको सम्पूर्ण जिम्मेवारी कोषले लिनु पर्ने बताए ।
यसैगरी भुक्तानीको विषयलाई लिएर असोज ८ गते भएको घटनाप्रति संघले दुःख व्यक्त गरेको छ । कोषका पदाधिकारीमाथि आन्दोलनरत निर्माणव्यवसायीहरुले हातपात गरेको भनि घटनालाई अतिरञ्जित गरिएको संघले उल्लेख गरेको छ । उक्त घटना हुनुमा स्वयम् बिकास कोषका पदाधिकारीहरुको नै कमजोरीले रहेको दाबी गरिएको छ । उक्त दिन राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र लुम्बिनी बिकास कोषले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले ‘ठेकेदारलाई पैसा दिएर आफू जेल नजाने’ भन्ने अभिव्यक्तिले अप्रत्यासित घटना निम्तिएको निर्माण व्यवसायीहरुको आरोप छ । उपाध्यक्ष लामाले निर्माण व्यवसायीहरुले माग गरेको भुक्तानीनै गैर कानूनी र दिन नसकिने आसयले प्रस्तुत गरेपछि काक्रोशित भएको भिडबाट अप्रत्यासित घटना भएको बताउँदे संघका सल्लाहकार कक्षपतिले दुःख व्यक्त गरे ।
कोष अन्तरगतका परियोजनामा काम गरिहेका निर्माण व्यवसायीहरलाई भुक्तानीका लागि गत भदौ २० गते संघीय सरकारले रकम पठाएको भएपनि अल्झाएर राखिएको लुम्बिनी-अनक-खड्का कृष्ण जेभीका प्रतिनिधि देवराज गौतमले दाबी गरे ।