बुटवल, ८ असोज ।
रुपन्देहीको भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय अन्डर–१९ क्रिकेट छनोट प्रतियोगितामा रुपन्देहीले फराकिलो अन्तरले जीत हाशील गरेको छ । मंगलबार भएको खेलमा पाल्पालाई २ सय ९१ रनकाे फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही विजयी भएको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रनको उच्च योगफल बनायो । उसका लागि विजय प्रजापतिले ९६, समीर अलीले ६८, सन्तोष साउदले ५७ र सन्तोष यादवले ५१ रनको अर्धशतकीय इनिङ खेले । बलिङमा पाल्पाका रोशन बस्याल, नरबहादुर सार्की र उदय महर्जनले समान २–२ तथा सुदर्शन भण्डारीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको पाल्पा ३४ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८२ रनमै समेटियो । उसलाई सस्तैमा समेट्न रुपन्देहीका रमेश कुर्मीले ३, सुमित पराजुली र सुरज खड्काले समान २–२ तथा सागर गैरे र सन्तोष यादवले १–१ विकेट लिए ।
पाल्पाका अमित अधिकारीले ३३ र कुशल ढकालले १३ रन बनाउनबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जाेड्न सकेनन् । खेलमा रुपन्देहीका विजय प्रजापति म्यान अफ द म्याच घोषित भए ।
अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशस्तरीय टीम छनोट गर्न प्रत्येक जिल्लाको फरक–फरक टीम बनाएर छनोट खेल भइरहेको प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए । उनका अनुसार छनोट खेलपछि उत्कृष्ट खेलाडीलाई समेटेर लुम्बिनी प्रदेशस्तरीय यु–१९ क्रिकेट टिम घोषणा गरिने छ ।