बुटवल,८ असाेज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिक तहमा बढ्दै गएको निरासालाई आशामा बदल्नेगरी प्रदेश सरकारले सुधारका कामहरु अघि बढाएको बताएका छन् ।
मंगलबार बुटवलमा आयोजित सुशासन प्रबद्र्धन तथा भ्रष्ट्राचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथिको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले उक्त कुरा बताएका हुन् ।
सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा ईमानदारीता आवश्यक पर्ने बताउदै उनलेे सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरुवात गरिएको दाबी गरे ।
सुशासन कायम गर्न आफैबाट सुरुवात गरेको भन्दै उनलेे मुख्यमन्त्रीबाट हटेपछी पाउने सुविधा नलिने र अरुलाई पनि नदिनेगरी निर्णय गरेको उल्लेख गरे । पूर्व मुख्यमन्त्री र पूर्व सभामुखले गाडी तथा सेवा सुविधा फिर्ता गरिसकेको जानकारी गराउदै उनलेे मुख्यमन्त्री पदबाट हटेपछी पूर्व बिशिष्ट व्यक्तिको नाममा कुनै सुविधा लिने छैन भनेर निर्णय गरेको बताए ।
आफुले गलत नियत नराख्ने हो भने सुधारेर जान सकिने उल्लेख गर्दै उनले यो अभियानमा सबैको साथ जरुरी रहेको बताए ।
कार्यक्रममा गुल्मी, पाल्पा, अर्घखाँची, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायत सरोकारवाला पक्षको सहभागिता रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले जनाएको छ ।