बुटवल,७ असाेज ।
काम गरेबापतको भुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएका निर्माण ब्यवसायीहरूले साेमबार बुद्ध जन्मस्थल लुम्बिनीमा धर्ना र सडक अवरुद्ध पारेका छन् ।
यहाँ काम गरिरहेका चारवटा निर्माण जेभीले पूर्वबाट मायादेवी मन्दिर प्रवेश गर्ने ३ र ४ नम्बर तथा पश्चिमबाट मायादेवी मन्दिर प्रवेश गर्ने ८ र ९ नम्बर गेटमा धर्ना दिँदै बाटो अवरोध गरेका हुन् ।
उनीहरुले सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म बाटोमा अवरोध तेर्स्याउँदै आवतजावत ठप्प पारे । यसले लुम्बिनी आएका पर्यटक र उनका गाडी अलपत्र परेका थिए ।
लुम्बिनीमा गुरुयोजना अन्तर्गतका विभिन्न निर्माण र साैन्दर्यकरणको काम गरिरहेका खानी अर्घाखाँची बाबुल जेभी, रमन गजुरमुखी राम जानकी जेभी, लामा अपेक्स कमलजित जेभी र लुम्बिनी अनक खड्का कृष्ण जेभीका कर्मचारी, प्राविधिक र उनीहरुलाई सामान सप्लाई गर्ने सप्लायर्सले धर्ना दिएका हुन् ।
चारवटा जेभीले काम गरेबापत करिब ५० करोड भुक्तानी पाउन बाँकी रहेको लामा अपेक्स कमलजित जेभीका साइट इन्चार्ज अनिल शर्मा चिलवालले बताए । उनलेे माग पूरा नभएसम्म दैनिक विरोधका कार्यक्रम गर्दै जाने चेतावनी समेत दिए ।
उनिहरूले आइतबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउनुका साथै लुम्बिनी विकास कोष कार्यालयअघि बिहान १० देखि २ बजेसम्म धर्ना दिएका थिए ।