Share this News on Social Networking Pages

बुटवल,२ असोज ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डमा निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने काम आधा सकिएको आयोजनाले जनाएको छ ।

आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कुल ११ सय २६ मिटर लम्बाईको मुख्य सुरुङमध्ये ५४५.५७ मिटर खनिसकिएको छ ।

बाइपासतर्फ पहिलो बाइपास १५१ मिटर खन्ने योजना छ । यसमध्ये १३७.२ मिटर खन्ने काम सकिएको छ भने बाइपास दोस्रो १६१ मिटरमध्ये ११७ मिटर खनिएको आयोजनाले जनाएको छ । त्यस्तै बाइपास तेस्रोतर्फ १३० मिटरमध्ये १२३.४ मिटर खनिएको आयोजनाले जनाएको छ ।

सुरुङ खन्ने कामले गति लिए पनि यसमा लाइनिङको काम भने अगाडि बढेको छैन । स्लोप प्रोटेक्सनमा भने धेरै काम अगाडि बढेको छ ।

आयोजनाका अनुसार यहाँ दक्षिणतर्फ २३ सय वर्गमिटर स्लोप प्रोटेक्सन गर्नुपर्नेमा १ हजार ४९५ वर्गमिटरमा यस्तो काम भइसकेको छ । यो आयोजनाको समग्र भौतिक प्रगति २२.८५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति २६.४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

यो आयोजनाको निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले लिएको छ । यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सनसहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् ।

बुटवललाई पाल्पा,गुल्मीको, पोखरा र पश्चिम नेपालका विभिन्न गन्तव्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ । यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दैछ ।