बुटवल,१७ साउन ।
थाई एयर एशियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियालाई बिहीबार भैरहवामा उडान अनुमति दिएको हो ।
बैंकक मुख्यालय भएको थाई एयर एशियाले काठमाडौं र भैरहवामा उडान अनुमति मागेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले सातामा काठमाडौंमा तीन र भैरहवामा चारवटा उडान अनुमति दिएको हो ।
५८ वटा विमान भएको थाई एयर एशियाको नेपालको आधिकारीक एजेन्ट (जीएसए) युनिर्भसल ट्राभल रहेको छ । यसअघि हितबहादुर तामाङ पर्यटनमन्त्री हुँदा थाई एयरले उडानका लागि आवेदन दिएको थियो । २० वर्षअघि स्थापना भएको यो लोकस्ट करियर अन्तर्गतको वायुसेवा कम्पनीले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडीया, भियतनाम, इन्डोनेशिया, लावस, श्रीलंका लगायतका एशियाली मुलुकमा उडान गर्दै आएको छ ।
भैरहवामा अहिले सातामा एउटा नेपाल वायुसेवा निगमको उडान हुने गरेको छ । काठमाडौंबाट मलेसिया जाने निगमको जहाज हरेक मंगलबार फर्किँदा क्वालालमपुरबाट भैरहवा हुँदै काठमाडौं आउने गरेको छ ।
यसअघि भैरहवामा हिमालय एयरलायन्स भैरहवा–मलेसिया र कुबेतको जजिरा एयरलायन्सले कुबेतबाट उडान गरेका थिए । हाल यी दुबै एयरलायन्सले उडान स्थगन गरेका छन् ।