Share this News on Social Networking Pages

भोजपुर,१६ साउन ।
अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन ।

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाकाअनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू रहेका छन् ।

बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ ।

बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा रहेको घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चार जनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सात जनाको टोली खोजीको लागि खटिएको छ ।