बुटवल,१५ साउन ।
नयाँ सत्ता समिकरणपछि बर्खास्तीमा परेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले समानुपातिक प्रणालीका कारण मुलुकमा अस्थिरता आयो भन्नु गलत भएको बताएका छन् ।
मंगलबार बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै उनलेे उक्त कुरा बताएका हुन् ।
पञ्चायतकालदेखि २०४८ साल यताका कुनै पनि सरकार पुरा अबधि नचलेको स्मरण गर्दै शेरचनले के त्यतिबेला समानुपातिक प्रणाली थियो भनि प्रश्न गरे ।
संविधान संशोधन प्रति घुमाउरो पारामा असहमति जनाउँदै उनलेे भने- “हजारौं शहिदहरू,घाइते र बेपत्ता याेद्वाहरूकाे बलिदान र रगतले सिंचित संविधान हो । समावेशी समानुपातिक प्रणाली सहित ३ तहका संरचनामा आधारित संविधान विश्वका कुनै पनि राष्ट्रमा पाइदैन । नेपालकाे विशिष्ट सामाजिक संरचना एवं नेपाली समाजको विशेषतामा आधारित संविधान हो । यतिखेर संविधान संशोधन गराउने सहमतिमा कांग्रेस एमाले दुई दलकाे गठवन्धन सरकार बनेको छ । संशोधनको बुदाहरूमा समानुपातिक प्रणाली र धर्म निरपेक्षताका दफाहरूलाई लिएको देखिन्छ ।” त्यस प्रति गम्भीर भएर साेच्न उनलेे आग्रह गरेका छन् ।
पछिल्लो समय नेपालमा संविधान उल्लंघन गर्ने क्रम बढ्दै गएको र बर्तमान सरकारले पनि संविधान उल्लंघन गरेको भन्दै शेरचनले आफुले साउन ४ गतेनै राजिनामा दिने तयारी गरे पनि प्रदेशमा नयाँ सरकार गठन लगायतका कामका कारण आजसम्म रहनुपरेकाे बताए ।
६ दशक लामो राजनीतिक यात्रामा आफुले जेज नेल,यातना अंगभंग लगायतका घटनाको सामना गरेको भन्दै उनलेे राजनीति गर्ने क्रममा १५ बिघा जग्गा सिध्याएकाे बताए ।