पाल्पा,६ साउन ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक महामानव स्व. विपी कोईरालाको ४२ ओैँ स्मृति दिवसको अवसरमा आज पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं. ४ भैरबस्थानमा बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस रिब्दिकोट गाउँपालिका वडा नं. ४ वडा कार्यसमितिको आयोजनामा जैविक विविधता र वातावरण संरक्षणका लागि भन्दै पाल्पाको पर्यटकीय क्षेत्र भैरवस्थान क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले नेपालमा प्रजातन्त्र स्थापनाका पर्यायवाची महामानव विपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादकाे सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

विपी कोइरालाले अगाडि सारेका सिद्धान्तहरू अनुसरण गरे मात्रै उनि प्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने भन्दै उनलेे आजकै दिनबाट सबैले त्यस्तो प्रण गर्नुपर्नेमा जाेड दिए ।

जैविक विविधता र वातावरण संरक्षणको लागि वृक्षारोपण र वृक्षको संरक्षण अपरिहार्य रहेको भन्दै सभापति श्रेष्ठले राेपिएका बिरूवाकाे संरक्षणमा लाग्न आयाेजक रिब्दीकोट ४ वडा कार्यसमितिलाई निर्देशन समेत दिए ।

नेपाली कांग्रेस रिब्दिकोट ४ का सभापति कमलराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्थ,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य महेन्द्र पाण्डे, क्षेत्रीय सभापति मुक्तिराम जि.सी लगायतले नेपाल राजनीति र साहित्यकाे क्षेत्रमा स्व काेइरालाले पुर्याएकाे याेगदाबारे चर्चा गरेका थिए ।

साे अवसरमा राष्ट्रियताको पहिचानका लागि नेपालको राष्ट्रिय फुल लालिगुँरास लगायत बिभिन्न फलफूल लगायतका बिरूवा राेपिएकाे थियो ।