Share this News on Social Networking Pages

बुटवल,६ साउन ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी बन्ने भएका छन् ।

केन्द्रीय राजनीतिमा आएकाे फेरबदलसँगै लुम्बिनीमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने भएका हुन् ।

एमालेकाे जिम्मामा परेकाे लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री गिरीलाई बनाउने निर्णय भएको प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले जानकारी दिए । एमाले र कांग्रेसकाे समर्थनमा मुख्यमन्त्रीमा गिरीलाई अगाडि बढाउने सहमति जुटेकाे चाैधरीले बताए ।

गिरीलाई मुख्यमन्त्रीमा नियुक्तिकाे लागि प्रदेश प्रमुखसमक्ष आजै दावी पेश गर्ने कांग्रेस एमालेकाे तयारी छ ।

आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री जाेखबहादुर महराले विश्वासकाे मत लिने तयारी गरेका छन् । तर, एमाले र कांग्रेसकाे बीचमा मुख्यमन्त्रीकाे लागि सहमति भएपछि महराले संम्बाेधन गरेर राजीनामा दिनसक्ने उनकाे सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयाेजनका लागि आज दिउँसो १ बजेका लागि बाेलाइएकाे प्रदेश सभाको बैठक यो समाचार तयार पार्दासम्म सुरु भएको छैन ।