बुटवल,५ साउन ।
राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

सरकारले गरेका राम्रा कामको सर्मथन गर्ने र नराम्रा कामको बिरोध गरिने उनलेे बताए ।

प्रगतिशील पत्रकार संघ नेपालले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले सरकार चलाउनेहरुको चरित्र र व्यवहार गतिलो नभएकाले सरकारलाई विश्वासको मत नदिने बताएका हुन् ।

उनले कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष केपी ओलीवीच असार १७ गते राती भएको ७ बुंदे सहमती सार्वजनिक गर्नुपर्ने समेत बताए ।

रातारात गरेको ७ बुंदे सहमतीमा के के छ जनतालाई जानकारी गराउनुपर्ने भन्दै उनलेे जनताको आंखामा छारो हालेर देशलाई कमाइ खानेभाडो बनाउन नपाइने बताए ।

छलछामको राजनीतिले राम्रो सन्देश नदिने भन्दै उनलेे कांग्रेस र एमालेको वीचमा भएको ७ बुंदेमा संविधान शंसोधन गरेर प्रदेश हटाउने सहमती भए राष्टिय जनमोर्चाले सरकारलाई समर्थन गर्ने बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले कांग्रेस र एमाले गठबन्धनको सरकार कहिलेसम्म टिक्छ अहिले केही भन्न नसकिने टिप्पणी गरे । दुवै पार्टीका नेताहरुको चरित्र र व्यवहार उस्तै भएकाले गठवन्धन यसै भन्न नसकिने बताए ।

संविधान विपरित संसद विघटन गर्नु गलत भएको भन्दै उनलेे प्रतिगमन दोहोरीने खतरा रहेको उल्लेख गरे । उनले सत्ता चलाउंदै आएका दलका नेताहरुको गल्तीका कारण लोकतन्त्र, गणतन्त्रको स्थायीत्व हुन नसकेको दावी गरे ।

सरकार राम्रोसंग चलाएर जनतालाई राहत दिनुको साटो दलका नेताहरु सत्ता र पदमा केन्द्रित भएकै कारण राजनीतिक दल, लोकतन्त्र र गणतन्त्रप्रति जनतामा वितिष्ण पैदा भएको उनको भनाइ थियो ।

उनले सत्ता र शक्तिका लागि लागि विदेशीसंग झुकेर जस्तो सुकै काम गर्ने दल र नेताहरुप्रति मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए । नेपाल जस्तो सानो भूगोल र आर्थिक रुपले कमजोर देशमा संघीय प्रणाली नचल्ने बताउंदै उनलेे छिटो भन्दा छिटो प्रदेश खारेज गर्नुपर्ने बताए ।

प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र विरेन्द्र कुवंरको सञ्चालनमा कार्यक्रम भएको थियो ।