बुटवल,४ साउन ।
रूपन्देहीको बुटवल लगायत यस क्षेत्रमा ‘नैरोबी फ्लाई’ का बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइएको छ ।
बुटवलका छालाराेग बिशेषज्ञकहाँ दिनहुँजसो त्यस्ता बिरामी आउने गरेको चिकित्सकहरूले जानकारी दिए ।
नैरोबी फ्लाई एक प्रकारको झिँगा हो जसले टाेक्दैन तर जानेर वा नजानेर चलायाे भने आफुमा रहेको बिष मानिसको शरिरमा छाडिदिन्छ र साेहि बिषले छालामा संक्रमण गर्ने चिकित्सककाे भनाइ छ ।
बुटवल अस्पताललाइन स्थित नेपाली स्किन क्लिनिकका बिशेषज्ञ डा मनाेज सापकोटाले ‘नैरोबी फ्लाई’ को संक्रमण भइहाले पनि तत्काल साबुनपानीले हल्का सफा गर्ने र भेस्लिन जस्ता छालालाई नरम राख्न मलम लगाए आराम मिल्ने बताए ।
खासगरी सुतेको समय र काममा ब्यस्त भएको अवस्थामा साे झिंगा मानिसको शरिरकाे खुल्ला भागमा बस्ने र त्यसलाई नहेरी लामखुट्टे वा अन्य झिंगा जस्तो ठानेर त्यसलाई साेहि ठाउँमा मारिदिने गर्दा उसको शरिरमा रहेको बिषले शिर पाेल्ने राताे डाम देखिने गरेको उनलेे जानकारी दिए ।
“नैरोबी फ्लाईले टोक्ने गर्दैन । यसलाई छोएर, मिचेर वा मार्न खोज्दा यसले पेडेरिन नामक रसायन निकाल्छ । यो रसायन मानिसको छालामा पर्दा आगोले पोलेको जस्तो असर गर्छ । जसले गर्दा चहर्याउने, चिडचिडापन, रातोपन, घाउ र छालामा असहजताजस्ता समस्या हुन सक्छन् । तर नैरोबी फ्लाईको असरले स्वास्थ्यमा गम्भीर जटिलता भने उत्पन्न हुँदैन ।”-डा सापकोटाले भने ।
यसले छालामा एलर्जी र पानीका फोका आउने समस्या उत्पन्न गर्छ । फोका निस्केको ठाउँमा बिस्तारै घाउ बन्छ र घाउको बीचबाट छाला निस्कन्छ । जसका कारण घाउ वरिपरिको छाला रातो हुन्छ । यदि नैरोबी फ्लाईको विष छालामा लामो समयसम्म रह्यो भने यसले सङ्क्रमण फैलिन सक्छ । तर आत्तिनु पर्दैन । सम्पर्कमा आएको भागसँग शरीरको अन्य भाग सम्पर्कमा आयो भने अन्य भागमा रसायनले असर गर्छ ।
शरीरको सम्पर्कमा आइहाले, किराले छोएको ठाउँलाई साबुनपानीले राम्ररी पखाल्नुपर्ने बताउदै उनलेे घाउ भएको ठाउँमा छोएर अर्को ठाउँमा छुन नहुने उल्लेख गरे । सामान्य अवस्थामा यसको असर कम्तीमा पनि एक हप्तासम्म रहन सक्छ र यस बेलासम्म पोल्ने र दुख्ने समस्या हुने उनको भनाइ छ ।
बढि दुख्ने वा छाला बिग्रन थाल्नेजस्ता जटिलता आउन थाल्यो भने छालारोग विशेषज्ञ वा नजिकैको अस्पतालमा देखाउनुपर्ने उनलेे बताए । जटिलता भएको अवस्थामा दुईदेखि तीन हप्तामा घाउ निको भइसक्ने डा सापकोटाले जानकारी दिए ।
यो किरा रातिकाे समयमा र बिजुली बत्ती बालेको ठाउँमा बढी सक्रिय हुने भन्दै उनलेे रातको समयमा अनावश्यक बत्ती नबाल्ने, घरको झ्याल ढोकामा जाली हाल्ने र बेलुका भएपछि झ्याल ढोका बन्द गर्ने उपायहरू अपनाउनुपर्छ । घरबाहिर निस्कँदा शरीर ढाक्ने लुगा लगाउनुपर्ने सुझाव दिए ।
धेरैले नैरोबी फ्लाईको सम्पर्कमा आइसकेपछि अनावश्यक क्रिम प्रयोग गर्ने गरेकाे भन्दै उनलेे डाक्टरको सल्लाहविना कुनै औषधि प्रयोग गर्नु हानिकारक हुन सक्ने बताए ।
कस्तो हुन्छ यो झिंगा
यो लगभग एक सेन्टिमिटर लामो हुन्छ । यो झिँगा हेर्दा कमिलाजस्तो लामो र सलक्क परेको देखिन्छ । यसको पछाडिको भाग चुच्चो र माथि उठेको हुन्छ । धेरैजसो नैरोबी फ्लाईको टाउको, बीच भाग र पुच्छर चम्किलो कालो हुन्छ भने अरू भाग रातो वा खैरो रङ्गको हुन्छ । यसको खुट्टा पनि कालो र रातो रङ्गको हुन्छ ।
नेपालमा नैरोबी फ्लाईको जोखिम बर्खायाममा बढी हुन्छ । यस समयमा गर्मी तथा चिस्यान बढी हुने भएकाले नैरोबी फ्लाई बढी सक्रिय रहन्छ र यसको वृद्धि विकासका लागि अनुकूल मानिन्छ ।