बुटवल,३१ असार ।
भैरहवा भन्सार कार्यालयले भैरहवास्थित एउटा घरको सटरभित्र लुकाएर राखिएको ८ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको अवैध सुर्ती र भारतीय चुरोट बरामद गरेको छ ।
भन्सार कार्यालयका अनुसार भैरहवाको बुद्धचोक पछाडि सिद्धार्थनगर नपा–९ कठौतियास्थित एउटा घरको सटरभित्रको गोदाममा लुकाएर राखिएको २ सय ८० किलो धूलो सुर्ती, क्लासिक नामको भारतीय चुरोट १ सय १ प्याकेट र कुल लिपसमेतको तयारी सुर्ती १ हजार ८५ प्याकेट बरामद भएको हो ।
उक्त स्थानमा भन्सार छली गरेर भारतबाट भित्र्याइएको अवैध सामान राखिएको सूचनाका आधारमा सामेबार बिहान सशस्त्र प्रहरी बलको सहयोगमा छापा हानेर बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए ।
बरामद गरिएको सबै सामानको मूल्य ८ लाख ६० हजार रुपैयाँ भन्दा धेरै रहेको उनले जनाए । सामान राख्ने व्यक्ति भने फरार छन् ।
फरार व्यक्तिको खोजी र अनुसन्धान जारी रहेकाे भन्सार कार्यालयले जनाएको छ ।