पाल्पा,२६ असार ।
सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्ड अन्तर्गत पाल्पाको दोभानमा स्कुटी दुर्घटना हुँदा तिलोत्तमाका एक युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा स्कुटी चालक रुपन्देही तिलोत्तमा ४ डि‌ङ्गानगरका २१ वर्षिय विवेक अधिकारी रहेका छन् ।

दुर्घटनामा स्कुटी चालक अधिकारीकी बहिनी १७ वर्षिया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन् ।

आज साँझ ६ः१५ बजेकाे समयमा बुटवलबाट तानसेन तर्फ आउदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशा तर्फबाट आउँदै गरेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै प्रहरी चौकी दोभानको प्रहरी टोलिले घाइते दाजु बहिनीलाई बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएकोमा बिवेकलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए । घाइते रश्मीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्ध जारी राखेको प्रहरीले जनाएको छ ।