पाल्पा,२६ असार ।
पाल्पाको बगनासकाली गाउँपालिकाकाे १६ औं गाउँसभा कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

उनिहरूले गाउँपालिकाकाे १६ औं गाउँसभाको अन्तिम बैठक
बहिष्कार गरेका हुन् ।

गाउँ कार्यपालिकाका तीन र १४ जना गाउँसभा सदस्यले सभा बहिष्कार गरेको तानसेनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अधिवेशनमा गाउँपालिका सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट नआएको उनीहरुको आरोप छ ।

उनिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै जनताका सरोकारका विषयबस्तुलाई उपेक्षा गरिएको, वडागत, विषयगत रुपमा विनियोजन बजेट न्यून भएको आरोप लगाएका छन् ।

पालिकामा अवण्डामा बजेट रहेको नदेखिने गरी अन्य शीर्षकमा बजेट लुकाइएको, जनप्रतिनिधिलाई उपेक्षित गरी पाटींगत रुपमा योजना छनोट गर्ने गरी बजेट व्यवस्था गरिएको आरोप छ । सरकार जन उत्तरदायी हुने भन्दा विलाशितातर्फ उन्मूख रहेको, कार्यपालिकामा उठाइएका कुनै पनि प्रश्नको उत्तर सन्तोषजनक तरिकाले नदिइएको उनीहरुको आरोप छ ।

सरकार दलगत स्वार्थ र कार्यकर्ताउन्मूख भएको, लेखा संयोजकले मागेका विविध शीर्षकमा गरिएको खर्चको विवरण उपलब्ध गराउँदा छलछाम गरिएको आरोप उनीहरुले सभामा दर्ता गरेको विरोधपत्रमा उल्लेख गरेका छन् ।

आर्थिक वर्ष २०८१/०८२ को बजेटमा असन्तुष्ट जनाएका कांग्रेसका १६ र माओवादीका एक जना छन् । नौ वडा रहेको बगनासकालीमा ५२ सदस्यीय गाउँसभा छ ।

विनियोजन विधेयकमाथि छलफल गर्न राखिएको बैंठकमा शुन्य समयमा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष थानेश्वर तिमिल्सेनाले आफ्ना कुरा राख्दा प्रवक्ता टिका थापाले बोल्न रोकेपछि सभा बहिष्कार गरेको उनीहरुले बताए ।

कार्यपालिकामा छलफल नगरी रातारात १ करोड ७५ लाखका ७८ वटा योजना तयार गरेर बजेटमा समावेश गरेको मुख्य विषय भएको वडाध्यक्ष तिमिल्सेनाले बताए ।

पत्रकार सम्मेलनमा दायित्वको शीर्षक रकम बढी राखिएको, गाडी खरिदमा ६० लाख, समपुरक अनुदानमा आवश्यकता भन्दा बढी रकम विनियोजन गरेको, नीति तथा कार्यक्रम अनुसार बजेट नल्याइएको, सार्वजनिक लेखा समितिका संयोजकले हिसाव माग गर्दा नदिएको र दिएको हिसाब पनि अपूर्ण र पादर्शी नभएको आरोप उनीहरुको छ ।