गुल्मी,२५ असार ।
अबिरल बर्षासँगै पहिरो खसेर अवरुद्ध गुल्मीको रिडी–तम्घास र
रुद्रबेणी‐हर्मिचौर–पुर्तिघाट सडक सुचारु भएको छ ।
आइतवारदेखि बन्द मदनभण्डारी राजमार्गअन्तर्गत तम्घास-रिडी सडकखण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । यो सडक खण्डको गुल्मीदरबार गाउँपालिका–४ बिरबासमा सडक माथिबाट खसेको पहिरो हटाएपछि सडक खुलेको हो ।
त्यस्तै कालीगण्डकी करिडोरअन्तर्गत रिडी,रुद्रबेणी‐हर्मिचौर पुर्तिघाट सडकखण्ड पाँच दिनपछि खुलेको छ । बिहीवार रातिको पहिरोले यो सडकखण्ड बन्द भएको थियो ।
सडकखण्डअन्तर्गत गरगरे, मुल्क, पातीखोला र बरल्वामा पहिरो खसेको थियो । दुई दिन लगाएर पहिरो हटाएपछि सडक खुलेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले जानकारी दिए ।
कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको पुर्तिघाट खण्डसम्मको सडक सञ्चालनमा आए पनि बाग्लुङतर्फ जाने सडक भने पहिरोका कारण अझै अवरुद्ध रहेको छ ।