बाँके,२४ असार ।
बाँकेमा लोपोन्मुख तथा अति पिछडिएका विपन्न समुदायलाई अनुदानमा बाख्रा वितरण गरिएको छ ।

लोपोन्मुख जातिका रुपमा रहेका किंगरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रति परिवार तीन वटाका दरले सय परिवारलाई
तीन सय बाख्रा वितरण गरिएको हो ।

उनीहरुकाे आयआर्जन वृद्धि गरेर आर्थिक रुपमा सबल बनाउने उदेश्यले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेद्वारा
अति पिछडिएका नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सय परिवारलाई तीन सय बाख्रा वितरण गरिएको हो ।

बाख्रा बितरण गर्दै लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री भण्डारीलाल अहिर यादवले बाख्रा पालन गरेर ब्यवसायिक रुपमा बाख्राको संख्या बढाउँदै लैजान लोपोन्मुख जातिका समुदायलाइ सुझाव दिए । मन्त्री यादवले सरकारले प्रदेशमा रहेका लोपोन्मुख तथा अति विपन्न समुदायलाई माथि उकास्न उनीहरुको आय आर्जनमा सहयोग पुर्‍याइ आर्थिक रुपमा सबल बनाउन बाख्रा वितरण गरिएको बताए ।

नेपालगन्ज उपमहानगरको वडा नम्बर २० र २२ तथा डुडुवा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ मा हरेक वडाबाट २० परिवारको छनोट गरेर लक्षित समुदायका सय परिवारलाई तीनसय वटा बाख्रा बितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिइन् । बाख्रा बितरणका लागि प्रदेश सरकारले २० लाख बजेट छुटयाएको थियो ।