नवलपरासी,२३ असार ।
नवलपरासी पश्चिमकाे कारागारका शाखा अधिकृत दत्त एक लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्तलाई पक्राउ गरेको हो ।
दत्तले कारागारमा काम गरेवापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस लिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनलाई कारागार प्रशासकको निवासबाट आइतबार पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता घिमिरेका अनुसार शाखा अधिकृत दत्तको साथबाट स्रोत नखुलेको अरु ५० हजार रुपैयाँ पनि बरामद भएको छ ।