पाल्पा,२२ असार ।
लगातारको अबिरल वर्षाले पाल्पाको माडीफाँटका अधिकांश भाग डुबानमा परेको छ ।

पाल्पाको अन्नभण्डारकाे रूपमा लिइने माडीफाँट क्षेत्र वर्षाका कारण ताल बनेको छ । फाँटका बुढुवा, अम्लिहान, तानसेनखोला लगायतका क्षेत्रका साथै फेदी, दोहोरा र बद्वारी क्षेत्रमा बाढी पसेपछि डुबान भएको तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताए । दुई दिनअघि मात्र रोपेको धान भल बाढीले डुबाएपछि कृषकहरु चिन्तित बनेको उनले बताए ।

माडीफाँट क्षेत्रमा तानसेन नगरपालिका, बगनासकाली, माथागढी क्षेत्रका ५ हजार रोपनीभन्दा बढी धान खेत डुबानमा परेको छ । ‘माथिल्लो भेगको पानी बगेर आउने र लामो वर्षा हुनासाथ डुबानमा पर्ने गरेको छ,’ वडाध्यक्ष राजेश अर्यालले भने, ‘तिनाउ खोला क्षेत्रको निकासमा केही भाग उकास भएकाले समस्या हुने गरेको छ ।’

उकास क्षेत्रमा गिट्टी, बालुवा निकाल्ने गरे पनि पुनः बगाएर लगेर डुबानमा पर्ने गरेको छ । तिनाउ खोला क्षेत्रमा बगर जमेर बसेपछि खेत बर्सेनि डुबानमा पर्दै आएको स्थानीयले बताए ।

यस्तै बाँसटारी क्षेत्रको सयौं रोपनी खेत डुबानमा परेको स्थानीयले बताएका छन् ।

बाँसटारी क्षेत्रमा खोला पसेपछि खेतबाटै खोला बगेर डुबानमा परेको छ ।

गएराती पाल्पाको तानसेन लगायतका क्षेत्रमा २ सय २२ मिलिलिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागकी पाल्पा प्रतिनिधि सरिता अधिकारीले बताइन् । यस्तै रामपुर नगरपालिका १० गेझा क्षेत्रमा ३ सय ५६ मिलिलिटर वर्षा मापदन भएको छ ।

विभागका अनुसार पाल्पाका विभिन्न भागमा ठूलो वर्षा भएपछि तिनाउ खोलाको जलसतह खतराको तहभन्दा माथि रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।